सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा निर्वाचन आयोगमा नयाँ पार्टीका रुपमा नेकपा (एमाले) नामक पार्टी दर्ता भएकोबारे छलफल भएको छ । आयोगमा दर्ता भएको नेकपा (एमाले) नामक पार्टीमा नेकपाको कुनै पार्टी या नेता संलग्न छ,छैन भन्ने विषयमा बैठकमा जानकारी मागिएको थियो । झापाका सन्ध्या तिवारीको नेतृत्वमा उक्त दल दर्ताको निवेदन परेको जनाइएको छ ।
त्यसैगरी बैठकमा पूर्वनिर्धारित कार्यसूचीका अतिरिक्त अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार हटाउन विभिन्न कोसिस भएको भन्ने सम्बन्धमा दिएका पछिल्लो अभिव्यक्तिका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा यही असार १४ गते प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार हटाउन छिमेकी भारतका संयन्त्र र पार्टीका नेता भित्रभित्र संलग्न भएको भन्ने अभिव्यक्ति दिएको विषयमा छलफल भएको हो ।
बैठकको आरम्भमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अध्यक्ष ओलीले व्यक्त गरेका भनाइका बारेमा अन्योल भएकाले स्पष्ट हुनुपर्ने जनाउँदै सो विषय छलफलमा प्रवेश गराएका थिए ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सो विषयमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, वेदुराम भुसाल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, भीमबहादुर रावल, रघुजी पन्त, युवराज ज्ञवाली, गणेश साह, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुसाल, गोकर्ण विष्ट, भीम आचार्यसहित १८ जनाले विचार राखेका थिए । जवाफमा प्रधानमन्त्रीले आफूले बोलेका कुराबारे स्पष्ट पारेको र आफू पार्टीप्रति विश्वस्त रहेको जनाएका थिए ।
यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती र १५ गते राष्ट्रिय धान दिवसका कारण स्थगन भएको थियो । यसअघि नेपालको सीमा अतिक्रमण र सीमासम्बन्धी रहेको कार्यसूचीमाथिको छलफलमा जारी रहेको थियो ।
कोभिड–१९ को सङ्क्रमण, रोकथाम, नियन्त्रण, उपचार र त्यससँग सम्बन्धित पक्षका बारेमा छलफल हुनेछ । त्यसपछि सरकार तथा पार्टीको काम कारवाहीको विषयमा प्रवेश हुनेछ । बैठकमा सरकारको कामको समग्र समीक्षा, पार्टी कामको समीक्षा र साङ्गठनिक एकताका बाँकी काम सम्पन्न गर्ने, अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र विविध कार्यसूचीमा छन् । यस्तै कार्यसूचीको विविधमा रुकुमपश्चिममा गत जेठ १० मा भएको मानवताविरोधी घटना, नागरिकतासम्बन्धी विधेयक, सङ्घीय सांसदको भत्ताका विषय राखिएको छ । स्थायी कमिटीको अर्को बैठक भोलि बुधबार ११ बजे बस्नेछ ।