नेकपा स्थायी समिति बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ट नेताद्धय माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतमसहित १७ जना नेताहरुले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । हिजोको बैठकमा बोलेका १७ जना नेताले ओली विधि र पद्दतीमा नहिंडेको भन्दै राजीनामा दिनुपर्ने अडान राखेका थिए ।
उपाध्यक्ष वामदेव गौतमले पनि प्रधानमन्त्रीले सरकार र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरे । ओलीकै इसारामा निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि निवेदन दिइएको आरोप गौतमले लगाए। उपाध्यक्ष गौतमले छानबिन भए त्यसका लागि प्रमाण दिन आफू तयार रहेको बताए । यसबाट ओली नेकपा फुटाउन उद्दत रहेको प्रष्ट हुने गौतमको दाबी थियो ।
नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । सन्ध्या तिवारीको नाममा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन परेको हो । दल दर्ताका लागि निवेदन परेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले पुष्टि गरे ।
यता ओलीले भने गौतमको दाबीलाई कपोलकल्पित भएको बताएका थिए । ओलीले सहकर्मीको कुण्ठाका कारण पार्टी र सरकार सञ्चालनमा समस्या भएको बताएका थिए । लामो समय नेतृत्वमा रहेकाहरुले नै त्यागको कुरा उठाएर राजीनामा मग्नु सोभनिय नहुँने ओलीको भनाइ थियो ।
नेकपा स्थायी कमिटी बैठक आज पनि बस्दै छ । ओली इत्तरका नेताहरु स्थायी समिति बैठककै निर्णयबाट ओलीलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने तयारीमा छन् । पछिल्लो राजनीतिक शक्ति सन्तुलनमा पार्टीको सबै कमिटीमा अल्पमतमा परेका ओलीले स्थायी कमिटीको सामना कसरी गर्छन् भन्ने विषयले उनको भविष्य निर्धारण गर्ने देखिएको छ ।