सङ्कटमा प्रधानमन्त्री, परामर्शको लागि सबै मन्त्रीलाई बालुवाटार बोलाए

प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रीहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् । नेकपाको जारी स्थायी कमिटी बैठकमा सरकारको चर्को आलोचना गर्दै प्रधानमन्त्रीको राजीनामा मागिए पछि उत्पन्न परिस्थितिका विषयमा छलफल गर्न ओलीले आकस्मिक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बिहान ८ बजेका लागि बैठक बोलाएका हुन् । बैठक अहिले जारी छ । प्रधानमन्त्रीले स्थायी कमिटी बैठकमा भएको सरकारको आलोचनालगायत विषयमा अनौपचारिक छलफल गर्न बोलाएको बताइएको छ ।



मन्त्री तथा स्थायी समिति सदस्यसँगै ओली निकट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेललाई पनि छलफलका लागि बोलाइएको छ ।

मंगलबार स्थायी कमिटी बैठकमा बोल्ने १७ जना सदस्यले नै सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको राजीनामा मागेका थिए । आजको स्थायी कमिटी बैठकमा सरकारका कामकारवाहीका बारे के कस्तो रुपमा प्रस्तुत हुने भन्ने धारण आजकौ बैठकले तय गर्ने बताइएको छ ।

सम्बन्धित समाचार