नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असार ।

नेकपाको जारी स्थायी कमिटी बैठकमा चर्को आलोचना खेपिरहेका प्रधानमन्त्री केपी ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाललाई फुटाउने रणनीति अवलम्बन गरेका छन् । पार्टीका सबै कमिटीमा अल्पमतमा परेपछि ओलीले नेपाललाई प्रचण्डबाट छुटाउने प्रयासमा लागेका हुन् ।
जारी स्थायी समिति बैठकका बारेमा छलफलका लागि बोलाइएको बैठकमा ओलीले प्रचण्ड निकट नेतालाई बोलाएनन् । छलफलका लागि मन्त्री रहेका आफू खेमाका र वरिष्ठ नेता माधव कुमार नेपाल निकट स्थायी समिति सदस्यलाई मात्र ओलीले बोलाएका छन् । बैठक बिहान ८ बजेबाट जारी छ ।
ओलीले प्रचण्ड निकट वर्षमान पुन, शक्ति बहादुर बस्नेत तथा गिरीराजमणी पोखरेललाई वैठकमा बोलाएनन्। तर पछिल्लो समय प्रचण्डसँग दुरी बढेका गृहमन्त्री राम बहादुर थापा र अर्का नेता लेखराज भट्टलाई बैठकमा बोलाइएको छ । ओलीले नेपाल निकट घनश्याम भुसाल र योगेश भट्टराईलाई बैठकमा सहभागी गराएका छन्।
दोस्रो तहका नेतामार्फत वरिष्ट नेता नेपाललाई आफ्नो क्याम्पमा ल्याउन भुसाल र भट्टराईमार्फत ओलीले पहल गरिरहेका छन् । राजीनामा दिनै परे पनि प्रचण्डको हातमा सत्ता नपुग्ने गरी राजीनामा दिने भन्दै ओलीले नेपाललाई फकाइरहेको स्रोतको दाबी छ ।
नेकपाको स्थायी समिति वैठक आज ११ बजे पुनः बस्दैछ। मंगलबार बसेको स्थायी समितिमा १८ स्थायी समिति सदस्यमध्ये १७ सदस्यले प्रम ओली पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए।
