झम्सीखेलमा बन्यो ओलीलाई सरकारबाट फिर्ता बोलाउने योजना

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षउन्मुख छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने आवाज जारी स्थायी कमिटी बैठकमा चर्को रूपमा उठेपछि ओलीइत्तरका नेताहरू स्थायी कमिटीबाटै निर्णय गराएर ओलीलाई सरकारबाट फिर्ता बोलाउने गृहकार्यमा जुटेका छन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरूले सरकार र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिन गरेको आग्रहलाई ओलीले बेवास्ता गरेपछि स्थायी कमिटीबाट बहुमतको आधारमा सरकारबाट फिर्ता बोलाउने तयारी गरिएको हो । यस योजनामा पछिल्लो समय ओलीनिकट देखिएका गृहमन्त्री रामबहादुर थापा पनि सहमत भएको स्रोतको दाबी छ ।



यो योजनालाई मूर्त रूप दिन बुधबार साँझ झम्सीखेलमा ओलीइत्तरका नेताहरूको बैठक सम्पन्न भएको छ । बैठकमा गृहमन्त्री थापा पनि सहभागि थिए । प्रचण्डसहित, नेपाल, खनाल, गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि उक्त बैठकमा सहभागी थिए । साथै उनीहरू निकट स्थायी कमिटीका सदस्यहरू पनि उक्त भेलामा सहभागी थिए । तर नेपाल निकट नेता योगेश भट्टराई भने भेलामा सहभागि भएनन् । निकै अर्थपूर्ण रूपले हेरिएको झम्सीखेलमा भेलामा भट्टराई सहभागी नहुनुलाई उनले राजनीतिक क्याम्प परिवर्त गरेको रूपमा हेरिएको छ ।

भेलामा सहभागी सबै नेताहरू ओलीलाई सरकारबाट फिर्ता बोलाउने विषयमा एकमत रहेका छन् । तर पार्टी अध्यक्षबाट पनि हटाउने विषयमा भने फरक मत देखिएको स्रोतको दाबी छ । सहभागी नेताहरूले पार्टी अध्यक्षबाट पनि हटाउँदा पार्टी फुट्ने सम्भावना बलियो हुँने हुँदा तत्काल सरकारबाट फिर्ता बोलाउने र उनको व्यवहारको आधारमा पार्टीबाट फिर्ता बोलाउने या नबोलाउने विषयमा निर्णय लिइने सहमति भएको बताइन्छ ।

पहिलोचरणमा ओलीइत्तरका मन्त्रीहरूको राजीनामा
भेलाले पहिलो चरणमा आफूनिकट मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने तयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । भोलि बस्ने बैठकमा ओलीको तयारी हेर्ने र त्यसका आधारमा आफूनिकट मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाउने ओलीइत्तरका नेताहरूको योजना छ ।

यसमा पनि केही मन्त्रीहरूको फरक मत रहेको पाइएको छ । प्रधानमन्त्रीलाई नै राजीनामा गराउँदा बाहिर सकारात्मक सन्देश जाने राय केही मन्त्रीहरूले राखेका छन् । मन्त्रीले मात्र राजीनामा दिंदा ओलीलाई घेराबन्दी गरेको जस्तो देखिने हुँदा ओलीलाई सहमतिमा ल्याएर राजीनामा दिन दवाव दिनुपर्ने आवाजहरू पनि उठेको छ । तर यस विषयलाई टुङ्याउने जिम्मा बैठकले नेता नेपाल र गौतमलाई दिएको स्रोतको दाबी छ ।

नाकाम ओली अस्त्र
पार्टीभित्रको सबै कमिटीमा अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई फकाउने रणनीति लिएका थिए । नेपालनिकट मन्त्रीद्वय योगेश भट्टराई र घनस्याम भूषालमार्फत ओलीले नेपाललाई विभिन्न प्रलोभन देखाएका थिए । प्रधानमन्त्रीबाट राजीनामा दिनै परे प्रचण्डबाहेकका नेता प्रधानमन्त्री बन्नेगरी राजीनामा दिन तयार रहेको भन्दै नेपाललाई प्रचण्डसँग छुटाउने प्रयास ओलीले गरेका थिए ।

ओलीले विभिन्न प्रलोभनमा पारेकै कारण नेपाल निकट पर्यटनमन्त्री भट्टराई शीर्ष नेताहरूलाई मिलेर जान सुझाव दिइरहेका छन् । तर नेपाल, खनाल र गौतमले प्रचण्डलाई दह्रोसँग साथ दिएकोले पार्टीभित्र ओलीको एकाधिकार टुटेको र प्रधानमन्त्री पद धरापमा परेको बुझ्न सकिन्छ ।

खासगरी प्रधानमन्त्री ओलीले भारतले सरकार ढाल्न चाहेको बताएर आफूइत्तरका नेताहरूलाई भारतको इशारामा चलेको आरोप लगाएपछि उनीविरूद्ध बलियो मोर्चाबन्दी सुरू भएको थियो । आफ्नै बोलीलाई ठेगानमा राख्न नसक्दा ओलीले सरकारमात्र नभएर पार्टी अध्यक्षको पद पनि धरापमा परेको नेकपा वृत्तमा चर्चा छ ।

सम्बन्धित समाचार