खुमलटार बैठकमा पार्टी भित्रको विवाद हल गर्ने विषयमा कुराकानी

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद बढ्न थालेपछि शीर्ष नेताहरुले परामर्श र छलफललाई तीव्रता दिएका छन् । हिजो बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकटका नेतासँग छलफल गरेपछि बेलुका प्रचण्ड र माधव नेपाल पक्षधरले खुलमटारमा परामर्श गरेका छन् ।

त्यस्तै आज बिहानै प्रचण्ड निवास खुमलटार पुगेका ओली पक्षधर नेतासँग प्रचण्डले झण्डै २ घण्टा छलफल गरेका छन् । छलफलका क्रममा पार्टी एकतालाई कसरी मजबुत बनाउने विषयमा कुराकानी भएको सहभागी एक नेताले बताए । पार्टी भित्रको विवाद चाँडै हल गर्ने विषयमा कुराकानी भएको भएको उनले जानकारी दिए



उनले भने, ‘पार्टी एकता कसरी मजबुत बनाउने भन्ने विषयमा छलफल भयो, यसका लागि थप छलफल गर्न आवश्यक भएको निष्कर्ष निकालिएको छ ।’ छलफलमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवासचन्द्र नेम्वाग, विष्णु पौडेल, विष्णु रिमाल र शंकर पोखरेललगायत ओली पक्षका नेता सहभागी थिए ।

प्रचण्डपक्षका जनार्दन शर्मा, नारायणकाजी श्रेष्ठ, मात्रिका यादव, हरिवोल गजुरेल र नेपाल समुहका सुरेन्द्र पाण्डे सहभागी थिए । पार्टी तथा सरकार सञ्चालनमा एक्लौटी ढंगमा अघि बढेको भन्दै स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा माग गरेपछि दुवै पक्षले छलफललाई तीव्रता दिएका छन् ।

सम्बन्धित समाचार