सदनको चालु अधिवेशन अन्त्यले उब्जाएका प्रश्न

‘अध्यादेश ल्याउने दुस्प्रयास नहोस्’–थापा, ‘कमरेडहरूलाई दुई तिहाइ पचेन’–भट्टराई

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुबै सदनको चालु अधिवेशन अन्त्य गरेकी छिन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले विहीबार अपरान्ह ५ बजेदेखि लागु हुनेगरी संसद्को बजेट अधिवेशन अन्त्य गरेकी हुन् ।

कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले कोरोनाभाइरसको संक्रमण र संसदको बिजनेस सकिएकाले अधिवेशन अन्त्य गर्न लागिएको बताएकी छन् । तर संसदमा अहिले नागरिकता, अख्तियार र संघीय निजामती सेवासम्बन्धी विधेयक र एमसीसी बाँकी नै छन् ।



फेरि अध्यादेश ल्याउने प्रधानमन्त्रीको सङ्केत

नेकपाभित्रै र कतिपय फेरि सरकारले राजनीति दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरेका छन् । संसद् अधिवेशन चलिरहेका बेला अध्यादेश जारी गर्न नमिल्ने संवैधानिक व्यवस्था भएकाले प्रधानमन्त्री ओलीले संसदको अधिवेशन अन्त्य गरेको हुन सक्ने आशंका गर्न थालिएको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली गत वैशाख ८ गते राजनीतिक दलसम्बन्धी ऐनमा संशोधन गर्न अध्यादेश ल्याएका थिए। प्रधानमन्त्रीको उक्त कदमप्रति पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि उनले अध्यादेश फिर्ता लिएका थिए। हालको कानुनअनुसार कुनैपनि दल विभाजन गर्न केन्द्रीय समिति र संसदीय दल दुबैमा ४० प्रतिशत संख्या आवश्यक हुन्छ।

राजनीतिशास्त्री कृष्ण पोखरेलले पनि ट्वीट गर्दै अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयमाथि आशंका व्यक्त गरेका छन् । उनले अधिवेशन अन्त्य गरेर दल विभाजनसम्बन्धी अध्यादेशलाई ब्युँताउन खोजिएको हो कि भनी प्रश्न गरेका छन् ।

पार्टीभित्रको किचलोको अचानोमा संसद !

संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रूपमा अन्त्य भएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले पार्टीभित्रको किचलोको अचानोमा संसद परेको बताएका छन् । संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयपछि सांसद थापाले ट्वीट मार्फत यस्तो बताएका हुन् । उनले ट्वीटमा भनेका छन्– ‘संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रूपमा अन्त्य!विनासकाले विपरीत बुद्धि! संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन, कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन् ।पार्टीभित्रको किचलोको अचानोमा संसद! संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।’

सरकारले अकस्मात संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयप्रति टिकाटिप्पणी सुरू भइरहेका बेला संसद्को चालु अधिवेशन अन्त्य र नेकपाभित्रको आन्तरिक विवादलाई लिएर पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले कमरेडहरूलाई दुई तिहाई नपचेको भन्दै व्यङ्ग्य गरेका छन्। उनले ट्वीट गर्दै भनेका छन्– ‘कुनैकुनै प्राणीलाई घ्यू पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुई तिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ। त्यो अजीर्णताले संसद् र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो!’ साथै उनले सबै सजग रहन र खबरदारी गर्न आग्रह गर्दै अगाडि भनेका छन्– ‘सबै सजग रहौं र खबरदारी गरौं । यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’

सम्बन्धित समाचार