नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असार ।
नेकपामा प्रधानमन्त्री केपी ओलीको राजीनामा मागिएपछि उत्पन्न विवाद समाधानको लागि दुबै पक्षका नेताहरु छलफलमा जुटेका छन् । ओलीइत्तरका नेताहरु कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवासमा छलफलमा जुटेका थिए । प्रधानमन्त्री ओलीले राजीनामा नदिने र उल्टै पार्टी फुटाउन उद्दत रहेको भन्दै अबको रणनीति तय गर्न उनीहरु छलफलमा जुटेका थिए ।
बैठकमा पार्टी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरू माधवकुमार नेपाल‚ झलनाथ खनाल‚ बामदेव गौतम‚ रामबहादुर थापा ‘बादल’लगायतका नेताहरूको उपस्थिति थियो। साँझ ७ बजे सकिएको बैठकले पार्टीलाई फुट्न नदिनका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने निष्कर्ष निकालेका छन् । बैठकमा उपस्थित नेताहरु पार्टी फुट्न नदिने र फुट्ने अवस्थामा पार्टी फुटको आरोप आफूहरुलाई नलाग्नेगरी भूमिका खेल्ने सहमति भएको स्रोतको दाबी छ ।
पार्टीभित्र संकट गहिरिएसँगै शुक्रबार र शनिबार थप आन्तरिक छलफल गर्नेगरी स्थायी कमिटीको बैठक एक दिनको लागि स्थगित गरिएको थियो। स्थायी कमिटी बैठक स्थगित भएसँगै दुबै पक्षका नेताहरु आ-आफूमा छलफलमा जुटेका थिए ।
यता प्रधानमन्त्री ओलीले भने आजै साँझ राष्ट्रपति विद्या भण्डारीलाई भेटेका छन् । साँझ ७ बनेमात्र शितल निवासबाट बाहिरिएका उनले आजै मन्त्री र राज्यमन्त्रीहरुलाई भेट्नेछन् । त्यसका लागि मन्त्री र राज्यमन्त्रीहरु बालुवाटार पुगिसकेको बालुवाटार स्रोतले बतायो । ओलीले राष्ट्रपति र मन्त्रीहरुलाई भेट्नुले कुनै महत्वपूर्ण निर्णय लिने तयारीमा रहेको आँकलन गरिएको छ ।