मन्त्रीहरुलाई प्रधानमन्त्रीले भने-‘पार्टी फुट्ने भयो, तपाईंहरु कता लाग्ने प्रष्ट हुनुहोला’

प्रधानमन्त्री केपी ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर पार्टी फुट्न लागेको बताएका छन् । आजै साँझ राष्ट्रपति विद्या भण्डारीलाई भेटेर मन्त्रीहरुसँग छलफलमा बसेका ओलीले पार्टी नरहने भयो तपाईंहरु कता लाग्ने हो प्रष्ट हुनुहोला भनेका थिए ।

ओलीले स्थायी कमिटीमा आफूलाई तल्लो स्तरमा झरेर गालीगलौज गर्ने, अत्यन्तै अपमानित गर्ने काम भइरहेको गुनासो मन्त्रीहरुसँग गरेका थिए । बहुमतको नाममा हुने कुनैपनि निर्णय मान्न आफू तयार नभएकोले पार्टी एकता धरापमा परेको ओलीको जिकिर थियो ।



‘हुलले जे भन्छ त्यहि गरेर पार्टी अगाडि बढ्न सक्दैन । पछिल्ला दिनहरुको गतिविधि तपाईंहरुलाई पनि थाहै छ । त्यसैले आफ्नो निर्णय आफै गर्नुहोला । कित्ता छुट्याउनुहोला ।’ ओलीको भनाइ अध्रित गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्रीले यति कुरा गरेपछि गृहमन्त्री रामबहादुर थापा र उर्जामन्त्री वर्षमान पुन बैठकबाट बाहिरिएका थिए । उनीहरु बाहिरिदै गर्दा ओलीले अब यसरी नै कित्ताकाट गर्ने समय आएको बताएका थिए ।

ओलीको कुराबाट मन्त्रीहरु निराश हुँदै बालुवाटारबाट बाहिरिएका छन् । ओलीको आजको ब्रिफिङ सुन्दा अध्यादेश ल्याएर पार्टी फुटाउने अन्तिम तयारीमा रहेको बुझ्न सक्ने बालुवाटार स्रोतले बतायो ।

सम्बन्धित समाचार