साम्राज्ञी पछि भुवनमाथि अर्को आरोप !

साम्राज्ञीले ५ वर्षअघि फिल्म ‘ड्रिम्स’ मा काम गर्ने क्रममा भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । उनले एक भिडियो शेयर गर्दै शुरुका ३ वटा फिल्ममा अभिनय गर्दा ‘नराम्रो व्यवहार’ भोगेको बताएकी थिइन् । उनको आरोपपछि भुवनले सामाजिक सञ्जाल फेसबूकमार्फत ‘जुन थालमा खायो, त्यही थालमा दुला पारेको’ भन्दै अभिव्यक्ति दिएका थिए ।

भुवनको उक्त अभिव्यक्तिपछि साम्राज्ञीले पुनः अर्को भिडियो सार्वजनिक गर्दै भुवनबाट ‘घिनलाग्दो व्यवहार’ को शिकार भएको बताएकी थिइन् । उनले भुवनलाई ‘पर्भट’ भएको बताएकी थिइन् । साम्राज्ञीले भुवनमाथि जापानमा आयोजना गरिएको अवार्ड समारोहका बेला नजिक टाँसिन आएर ‘तँ त मेरो प्रडक्ट होस्’ भन्दै दुर्व्यवहार गरेको आरोप लगाएकी छिन् । उनको यो आरोपपछि भुवनले नेपाल चलचित्र कलाकार संघमा छानबिनका लागि भन्दै निवेदन दिएका छन् । उनले साम्राज्ञीलाई साइबर क्राइममा उजुरी हाल्ने चेतावनी समेत दिएका छन् ।



यसरी साम्राज्ञीले भुवनमाथि लगाएको आरोप मत्थर हुन नपाउँदै भुवनले एक युवतीलाई ‘राम्री’ भन्दै च्याट गरेको भिडियो सार्वजनिक भएको छ । क्यानडामा बस्दै आएकी स्वेता रेग्मीले भुवनको व्यवहारमा प्रश्न उठाउँदै उनीसँगको च्याटको स्किृनशट शेयर गरेकी छिन् । उक्त च्याटमा भुवनले स्वेतालाई फिल्म खेलाउने ‘प्रस्ताव’ गरेको देखिन्छ । स्वेताले लाइभ भिडियोमार्फत भुवनको व्यवहार राम्रो नभएको प्रतिक्रिया जनाएकी छिन् ।

स्वेताले भुवनले आफूलाई फेसबूकमा रिक्वेस्ट पठाएको र कुरा गर्नासाथ फिल्मको अफर गर्दै रुपको चर्चा गरेको बताएकी छिन् । ‘यी व्यक्तिले मलाई फ्रेन्ड रिक्वेस्ट पठाए, मैले फेक हो कि रियल खाता हो भनेर सोधें, उनले भेरिफाइ गर्न भिडियो कल गर्न भने,’ स्वेताले भनेकी छिन्, ‘मैले पक्का गर्न फोन गरें, उनी थिए ।’

भुवनले दोस्रो दिन बिहान म्यासेज गरेर फिल्मका लागि प्रस्ताव गरेको बताइन् । भुवनले गरेको म्यासेजमा पनि ‘तिमी राम्री र बोल्ड छौ’ भनेर लेखेको देख्न सकिन्छ । स्वेताले भुवन व्यावसायिक व्यक्ति भएर पनि भिडियो कल गर्दा सोफामा सुतेर कुरा गरिरहेको, बिहान म्यासेज गरेर सीधै राम्री छौ भन्दा उनको व्यवहार र नियतमाथि प्रश्न उठाएकी छिन् ।

स्वेताले भिडियो सार्वजनिक गरेपछि कतिपयले आश्चर्य प्रकट गरेका छन् । भुवनको नियतलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको छ । साम्राज्ञीले उठाएको विषयको अन्य नायिकाहरुले पनि समर्थन गरेका छन् । नायिका ऋचा शर्मा, सुरक्षा पन्त, केकी अधिकारी लगायतले साम्राज्ञीलाई समर्थन गरेका छन् ।

सम्बन्धित समाचार