नेकपामा देउवाको प्रवेश, कांग्रेसले रणनीति नबुझ्दा देउवा दिक्क

सत्तारूढ दल नेकपाभित्रको विवाद उत्कर्षमै पुगेको बेला कांग्रेस सभापति शेरवहादुर देउवा र नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको निकटतालाई लिएर कांग्रेस र नेकपामा ओलीइत्तरका नेताहरूबीच खैलाबैला भैरहेको छ । नेकपाका कार्यकारी अध्यय पुष्पकमल दाहालले ओली देउवा सम्बन्धबारे वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनालसँग आजै फोनमार्फत परामर्श गरिसकेका छन् ।

यता कांग्रेस सभापति देउवाले पनि आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा ओलीसँगको सम्बन्धबारे स्पष्टिकरण दिनुपर्यो । ओलीसँगको भेटबारे पार्टीमा जनकारी नै दिन नचाहेका देउवाले पत्रपत्रिकामार्फत कुरो चुहिएपछि आज आंशिक कुरा पार्टीलाई जनाकारी गराएका थिए । अपुष्ट रूपमा उनले ओलीसँग भेट भएको र ओलीको दूतका रूपमा आएका सुवास नेम्बाङसँग वार्ता भएको स्वीकारे । तर देउवाले के कस्ता कुरा भएका छन् भन्नेबारे खुलाउन चाहेनन् ।



स्वाभाविक रूपमा नेकपाको फुटले कसैलाई राजनीतिक फाइदा हुन्छ भने त्यो कांग्रेसलाई नै हुन्छ । नेकपा फुटेमा तत्काललाई कांग्रेस दोस्रो दलबाट तेस्रो दलमा पुगे पनि आगामी निर्वाचनमा भने फाइदा पुग्ने निश्चित छ । त्यसैले पनि देउवा आफ्नो पार्टीमा थाहै नदिई नेकपामा प्रवेश गरी फुट ल्याउन चाहन्थे । आफ्नो साथ ओलीलाई रहेको ओलीइत्तरका नेताहरूलाई थाहा भएमा नेकपा फुट्ने सम्भावना कम हुने भएकोले देउवा यो विषयलाई गोप्य राख्न चाहन्थे । तर पार्टी अध्यक्षको रणनीति नबुझेर कांग्रेसका अन्य नेताहरूले विरोध गर्न थालेपछि देउवाको गोप्य रणनीति छताछुल्ल भएको छ ।

आजको बैठकमा ओलीसँगको सम्बन्धबारे पार्टी कमिटीभित्र प्रश्न उठेपछि देउवा झनक्क रिसाएका थिए । ‘राजनीतिमा रणनीति भन्ने हुन्छ ? सबै कुरा तपाईहरूलाई बताउनु पर्ने ? केके न गरेको जस्तो । समय आएपछि सबै थाहा भैहाल्छ नि । सबै कुरा सार्वजनिक गर्नुपर्ने हो ?’ भन्दै देउवा एकछिन् फन्किएका थिए ।

देउवाले ‘यस विषयमा मीनेन्द्र रिजाललाई थाहा छ । ओलीलाई भेटेको हुँ । नेम्बाङलाई भेटेको हुँ । के किनका कुरा अहिले नगर्नुस्, कुरा बिग्रन्छ’ भनेका थिए । पार्टीको हितको लागि कतिपय कुराहरू परिणाम नआउदासम्म बताउन नमिल्ने कुरालाई बुझ्न देउवाले आग्रह गरेका थिए । त्यसपछि बैठकमा महाधिवेशन कार्यतालिकाबारे छलफल भएको थियो ।

ओली देउवाको सम्बन्ध
पार्टीभित्र अल्पमतमा पर्न थालेपछि ओलीले देउवाको साथ खोजेका थिए । गत असार १७ मा देउवालाई बालुवाटार नै बोलाएर ओली देउवाबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । ओलीले संसद अधिबेशन अन्त्य गर्नेबारे पनि देउवासँग परामर्श लिएका थिए । ‘साथीहरूको व्यवहार हेर्दा नेकपा फुट्ला जस्तो छ । अब हामी मिलेर सरकार चलाउनुपर्यो । तपाईको साथ चाहिने भयो’ ओलीले देउवासँगको भेटमा भनेका थिए । देउवाले नेकपा फुटेमा सरकार सञ्चालनमा साथ दिने आश्वासन दिएको स्रोतको दाबी छ ।

देउवाबाट ढाढस पाएपछि ओलीले आफूइततरका नेताहरूसँग छलफलै नगरी बजेट अधिवेशन अन्त्य गरेर पार्टी फुटाउने तयारीमा लागेका थिए । तर ओलीलाई साथ दिनुमा देउवाको एउटै स्वार्थ थियो नेकपाको फूट । उनी ओलीसँगको भेटबारे आफ्नो पार्टी र नेकपामा पनि गोप्य राख्न चाहन्थे, तर सफल भएनन् ।

त्यसो त देउवाले आज पनि प्रधानमन्त्री ओलीकै आग्रहमा ओलीका विशेष दूत नेम्वाङलाई भेटेका थिए । ओलीले पार्टी फुटाउनुअघि देउवाले धोका नदिने कुरामा विश्वस्त हुन चाहेको बताइन्छ । साथै ओलीले कांग्रेसले साथ दिए पनि संसदमा आफ्ना निकट सांसद्बाहेक बहुमतको लागि ४ सांसद नपुग्ने भएकोले त्यसको जोहो गर्न लागिपरेको स्रोतको दाबी छ । ओलीले पार्टी उपाध्यक्ष बामदेव गौतमदेखि प्रचण्डसँग दुरी बढेका सांसदहरूलाई विभिन्न प्रलोभन देखाइरहेको स्रोतको दाबी छ ।

प्रचण्ड र देउवा दुबैसँग समदुरीमा वार्ता गरिरहेका ओलीले लिने निर्णयले देशको राजनीतिक दिशा निर्देश गर्ने देखिन्छ । ओलीको पछिल्ला अभिव्यक्ति हेर्दा उनी पार्टी फुटाउन तयार देखिन्छन् तर आफू इत्तरका नेताहरूले भनेजस्तो सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिन तयार देखिँदैनन् ।

सम्बन्धित समाचार