कार्यकर्तासम्म पुग्यो नेकपाको विवाद, ओली–दाहाल पक्षबीच झडप

नेकपाको शीर्ष नेतृत्वमा देखिएको विवादको असर तल्लो तहमा समेत देखिन थालेको छ। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड पक्षधरबीच कैलालीको लम्कीमा आज झडप भएको हो। ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट हटाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको छ।

नेकपाका कार्यकर्ता सामाजिक सञ्जालमा एकअर्का विरुद्ध प्रचारबाजी गरिरहेका बेला अब झडपमा परिणत हुन थालेको छ । ओली पक्षधरहरुले सोमबार दिउँसो लम्की चुहा नगरपालिकाको लम्की चोकमा प्रधानमन्त्रीको पक्षमा र्‍याली सहित कोणसभा गरेका थिए । त्यही बेला प्रचण्ड पक्षधरहरु एका-एक आएर आक्रमण गरेपछि स्थिती तनावग्रस्त भएको प्रत्यक्षदर्शीले बताएका छन् ।



सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको व्यानरमा ओलीको फोटो सहित नेपालको नयाँ नक्सा राखेर दुई दर्जन बढी युवाहरुको सहभागितामा लम्की चौराहामा प्रर्दशन समेत गरेका थिए । दुईतिहाईको सरकारलाई आफ्नै साथीहरुले ढलाउन खोजेको भन्दै आक्रोस पोखिरहेका बेला प्रचण्ड निकटका केही युवाहरु जुलुसमाथि खनिएका थिए ।

त्यस क्रममा दुबै पक्षका गरि ४–५ जना सामान्य घाइते भएका छन् । ओली पक्षधरहरुले आफूहरुमाथि प्रचण्डका पूर्वलडाकुहरुले नियोजित रुपमा आक्रमण गरेको आरोप लगाएका छन्।

सम्बन्धित समाचार