संक्रमणको अति उच्च जोखिममा काठमाडौं उपत्यका

काठमाडौं उपत्यका कोरोना संक्रमणको दृष्टिबाट अति उच्च जोखिममा परेको छ । सोमबार मात्र देशभरका कुल १८० जना संक्रमितमध्ये ५४ जना काठमाडौं उपत्यकाका रहेका छन् । तीमध्ये काठमाडौंका २४, ललितपुरका २० र भक्तपुरका १० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको यो धेरै सङ्ख्या हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा वासुदेव पाण्डेले काठमाडौं उच्च जोखिममा पर्दै गएको बताए । उनका अनुसार चाँगुनारायण, हरिसिद्धि लगायतका क्षेत्रका मानिस सङ्क्रमित रहेको र संक्रमितको विगत जानकारी पाउन नसक्दा उपत्यका जोखिममा पर्दै गएको हो ।



नेपाल वायुसेवा निगमका सात जना कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । निगमका सात जना कर्मचारीको परीक्षण पोजेटिभ आएको बताउँदै डा पाण्डेले निगमका कर्मचारीसँगै उपत्यकास्थित अस्पतालका स्वास्थ्यकर्मीलाई पनि कोरोना पोजेटिभ देखिएको उल्लेख गरे । कुन अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको भन्ने विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।

सम्बन्धित समाचार