नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । यसरी प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको उनले बताएको समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीले यसबारे सोचिरहेका छौँ ।’ टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाउँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाई छ ।
अमेरिका र चीनबिच तनाव बढिरहेका बेला विदेशमन्त्री पोम्पेओको टिप्पणी आएको हो । हालै भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो ।