नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ असार ।

गत चैत ११ गतेबाट देशभर जारी गरेको लकडाउन झण्डै तीन महिनापछि सरकारले गत असार १ गतेदेखि केही खुकुलो बनायो । लकडाउन खुकुलो बनाएसँगै सरकारी कार्यलयहरू सञ्चालनमा आए । सरकारले सार्वजनिक यातायात सुचारू नगर्ने तर निजी सवारीसाधानको हकमा भने जोर बिजोर प्रणाली लागु गरी सञ्चालन गर्ने निर्णय गर्यो ।
सरकारले झण्डै तीन महिना लामो लकडाउनलाई केही खुकुलो मात्रै गरेको भए पनि प्रायःजसो सडक बजारहरू हेर्दा लकडाउन पूर्ण रूपमा खुलेको जस्तो देखिन्छ । सडकमा सवारी साधनहरूको चाप देखिन्छ भने सर्वसाधारणको चहलपहल पनि बढ्दै गएको देखिन्छ । सवारी साधन सञ्चालनमा जोर बिजोर प्रणलीको पूर्ण रूपमा लागु भएको देखिँदैन भने बजारमा निस्कने आम सर्वसाधारणहरूले पनि न त भौतिक दुरी कायम गरेको देखिन्छ न त मास्क नै प्रयोग गरेको देखिन्छ । कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको बेला सरकार पक्षको असक्षमता र आम सर्वसाधरणको लापरबाहीका कारण स्थिति झनै भयावह होला भन्न सकिन्न । देशमा कोरोना संक्रमितहरूको संख्या थोरै भएको बेला लकडाउनलाई सबैले पूर्ण रूपमा पालना गरे पनि पछिल्लो समय जोखिम बढ्दै जाँदा लकडाउन भने खुकुलो बनाउँदै लगिएको छ, त्यो पनि कुनै ठोस मापदण्ड बिना नै । सरकारले लकडाउनको मोडालिटी परिर्वतन गरिएको बताए पनि त्यसको खासै केही प्रभाव देखिदैन ।
काठमाडौं उपत्यका ‘हटस्पट’ बन्ने जोखिम :
पछिल्लो एक सात्ता यता काठमाडौं उपत्यकामा थपिएका कोरोना संक्रमितको आकडालाई हेर्दा उपत्यका कोरोना संक्रमणको ‘हटस्पट’ बन्ने जोखिम बढ्दै गएको देखिन्छ । काठमाडौं उपत्यकामा ट्राभल हिस्ट्री नै नभएकाहरूमा पनि कोरोना संक्रमण देखिएको छ, जसले गर्दा कोरोना संक्रमण समुदायमा नै पुगिसकेको हुन सक्ने जनस्वास्थ्यविद्हरूले बताएका छन् । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि संक्रमण समुदायस्तरमै फैलिसकेको हुनसक्ने आशंकामा थप बल पुगेको छ । संक्रमितहरूमध्येमा कतिपयको संक्रमणको स्रोत अझै पनि पत्ता लाग्न सकेको छैन ।
सोमबार मात्र काठमाडौं उपत्यकामा हालसम्मकै सबैभन्दा बढी ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारसम्म काठमाडौं उपत्यकामा महिला १ सय १३ जना र पुरुष १ सय २६ जना गरी २ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ, जसमा काठमाडौंमा सबैभन्दा बढी १ सय ६१ जना छन् भने ललितपुर र भक्तपुरमा ३९–३९ जना रहेका छन् । काठमाडौं उपत्यकामा संक्रमण बढ्दै गइरहेका बेला बाहिर जिल्लाबाट उपत्यका भित्रिने क्रम पनि रोकिएको छैन । उपत्यका भित्रिनेहरूलाई दुई हप्ता अनिर्वाय क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयले भनेको भए पनि बसे नबसेको कुनै एकिन छैन । संक्रमित जिल्लाहरूबाट निर्वाध रूपमा उपत्यका भित्रिनेहरूका लागि न त स्वस्थ्य परिक्षण गरिएको छ न त कुनै क्वारेन्टाइन व्यवस्था नै गरेको छ । यसरी दैनिक सयौंको संख्यामा उपत्यका भित्रिनेक्रम नरोकिनु, सवारी साधनहरूमा पनि सही नियम लागु नहुनु, सर्वसाधारणहरूले पनि मास्कको प्रयोग र भौतिक दुरीको ख्याल नगर्नुले उपत्यकामा संक्रमणको जोखिम बढेको देखिन्छ ।
गृहको निर्देशन मास्क अनिर्वाय :
देशभर कोरोना संक्रमितहरूको संख्या थपिदै गएपछि गृह मन्त्रालयले ७७ वटै जिल्लालाई सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ । लकडाउन जारी रहेका बेला सडकमा भिडभाड बढ्न थालेपछि सोमबार गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गराउन भनेको छ । मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
