नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असार ।

सरकारले कोरोना भाइरस परीक्षणको कुनै शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना जाँच गरेको शुल्क बुझाउन पालिकाहरुलाई ताकेता गरेपछि मन्त्रालयले यस्तो शुल्क लिनु गैरकानुनी रहेको जनाएको हो ।
सरकारको निर्देशिकाअनुसार कोरोना परीक्षणको सबै खर्च सरकारले नै बेहोर्ने भएकाले कुनै पनि निकायले शुल्क लिन नपाउने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । उनले कोरोना परीक्षणको शुल्क लिएको पाइएमा कारबाही हुने बताए ।
साथै बुधबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता गौतमले कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएकाहरुलाई गाउँ जान रोक लगाइएका घटनाबारे पनि ध्यनाकर्षण भएको बताएका छन् । कोरोना संक्रमण मुक्त भएकाहरुबाट कोरोना सर्ने कुरै नआउने हुँदा त्यस्तो व्यवहार नगर्न उनको आग्रह थियो ।
