नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असार ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले हद नाघेर अनर्गल प्रचार गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यन्छीलाई जोडेर भारतीय मिडियामा अतिरञ्जित समचार आइरहेको प्रति प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन् । उनले अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी समेत दिएका छन् ।
बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट लेख्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरु एकढिक्को रहेको बताएका छन् । उनले भारततर्फ संकेत गर्दै विदेशीको फुटाउ र स्वार्थ पूरा गर भन्ने रणनीति सफल हुन नदिने बताए । उनले नेपालमा के गर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताए ।
‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो ।हद भयो ।बकवास बन्द गर’, सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्को छौं । विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’
भारतीय सञ्चार माध्यमले हाम्रो सरकार र प्रमकाबारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर।हाम्रो राष्ट्रीय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एक्ढिक्को छौं।बिदेशीको फुटाउ र स्वार्थ पुरा गर नीति सफल हुन दिनेछैनौ।यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।
— NKShresthaPrakash (@nksthaprakash) July 9, 2020
