लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीनको मृत्यु

मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी वर्षा भैरहेको छ ।

लमजुङको बेसिशहर – ७ सातबिसेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । दीपक तामाङको घर पुरिदा ३३ वर्षीया तामाङसहित उनकी श्रीमती २५ वर्षीया बीमाया तामाङ र ९ वर्षीय छोरा छेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले जानकारी दिए ।



पहिरोले घर पुरिएको खबर आएपछि पुगेको १५ जनाको प्रहरी टोलीले ३ जनाको भने जीवितै उद्धार गरेको उनले जानकारी दिए । जीवितै उद्धार गरिएकामा सोही स्थानका २६ वर्षको सन्त वहादुर गुरूङ, बेसिशहर १० पांग्रेक्यु घर भएको वर्ष २३ अनिल गुरूङ र पांग्रेक्युकै २३ वर्षीय सुमन तामाङ रहेको पुनले बताए ।

उनीहरूको जिल्ला सामुदायिक अस्पताल बेसिशहर लमजुङमा उपचार भइरहेको छ । घाइते तीनै जना मृतक दिपक तामाङको घरमा ट्याक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार