नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सात दिनका लागि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक एक साताका लागि स्थगित गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षति समेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहतमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केन्द्रिय कार्यालयको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटिको बैठक ७ दिन स्थगित’, प्रवक्ता श्रेष्ठले ट्विटमार्फत जानकारी दिएका छन् ।
नेकपाको स्थायी कमिटिको बैठक स्थगित भएको यो पाँचौँ पटक हो । प्रचण्ड–नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेपछि संकटमा आएका ओली दुवै पद नछोड्ने अडानमा छन् । समस्या समाधानका लागि ओली र प्रचण्डबिच लगातार वार्ता हुँदै आएको छ । तर कुनै उपलब्धी हासिल भएको छैन ।
नेकपाको आन्तरिक राजीतिमा गम्भीर संकट आएका बेला चिनियाँ राजदूत होउ यान्छीको सक्रियतालाई लिएर पनि चर्चा भइरहेको छ । यस्तै पार्टी फुटबाट जोगाउनका लागि सबै गुटका दोस्रो तहका नेताहरु पनि लगातार छलफलमा छन् । उनीहरुले नेतृत्वलाई जसरी पनि पार्टी एकीकृत बनाइ राख्न र सहमतिका आधारमा नभए पार्टी प्रक्रियामा गएर समाधान खोज्न दबाब दिँदै आएका छन् ।
यसैगरी केन्द्रीय सदस्यहरुले स्थायी कमिटिबाट अहिलेको संकट समाधान हुन सक्ने भन्दै केन्द्रीय समिति बैठकको माग पनि गरिरहेका छन् । तर ओली–प्रचण्डबिचकै संवाद र सहमतिले संकट टुंग्याउने उनीहरु निकट नेताहरुले बताउने गरेका छन् ।
अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री र पार्टी नेतृत्वबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ।
तर ओली सहमतिका तयार नभएकाले स्थायी समिति बैठकले बहुमतका आधारमा निर्णय गरेर अघि बढ्नुपर्ने प्रस्ताव पनि दाहाल नेपाल खेमाभित्र उठेको छ ।
देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।
— NKShresthaPrakash (@nksthaprakash) July 10, 2020
