नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

भारतीय संचारमाध्यमले विगत केही समयदेखि नेपालका बारेमा भ्रामक, कपोलकल्पित र अनर्गल समाचारहरु प्रसारण गरी नेपालको छवि धुमिल्याउने दष्प्रयास गरिराखेका छन् । हिंजो भारतीय च्यानल जीन्जूजले प्रधानमन्त्री केपी शर्मा ओली र चिनीयाँ राजदुतलाई लिएर वाहियात समाचार प्रसारण गरेपछि नेपाल सरकारले भारतीय न्यूज च्यानलको प्रसारणलाई नेपालको रोक लगाएको छ ।
भारतीय सञ्चारमाध्यम, विशेष गरी टेलिभिजनहरुले पछिल्लो समय एकपछि अर्को गरी नेपाल सम्बन्ध झुट र कपोलकल्पित खबरहरु प्रकाशन तथा प्रशारण गरिरहेका छन् । न्यूज २४ नाम गरेको भारतीय टेलिभिजनले त यहाँसम्म गरेको छ कि त्रिवि युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ डा. उत्तमकुमार शर्मालाई खानी विज्ञका रुपमा प्रस्तुत गरेर युरेनियम खानी सम्बन्धमा विशेष सामग्री नै बनाएको छ ।
मानव रोगका विज्ञ डाक्टरलाई खानी तथा रसायन विज्ञका रुपमा प्रस्तुत गरेर सो टेलिभिजनले मुस्ताङ जिल्लाको उच्च पहाडी क्षेत्रमा केही सयम अघि भएको युरेनियम सम्बन्धी अनुसन्धानलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध खबर बनाएको हो । सो टेलिभिजनले प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मिलेर युरेनियम निकाल्नका लागि मुस्ताङको उच्च पहाड चीनलाई बेच्न लागेको र नेपाली जनताले त्यसको विरोधमा सडकमा प्रदर्शन गरिहेको खबर जुलाई २ मा प्रशारण गरेको हो ।
न्यूज २४ को सो विशेष खबरमा खानी विज्ञका रुपमा प्रस्तुत भएका डा. उत्तमकुमार शर्माले युरेनियमका बारेमा सामान्य जानकारी गराएका छन् । उनले कतै पनि चीनले नेपालको युरेनियम प्रयोग गर्न चाहेको बताएका छैनन् । तर उनले नेपालीमा बोलेको हिन्दीमा अनुवाद गरी स्क्रिनमा प्रस्तुत गर्दा सो टेलिभिजनले चीनले प्रयोग गर्न चाहेको उल्लेख गरेको छ । स्मरण गर्नु पर्ने कुरा डा. उत्तमकुमार खानी विज्ञ होइनन् । उनी मुत्र तथा मिर्गौला रोग विशेषज्ञ हुन् ।
डा. शर्माले केही महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोणको टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
