नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असार ।

सरकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत ११ गतेदेखि देशभर लकडाउ जारी गर्यो । सरकारले जारी गरेको लकडाउन लामो समयसम्म कायमै रहँदा त्यसको प्रभाव चौतर्फी देखिन थाल्यो । पछिल्लो समयमा आएर लकडाउनलाई केही खुकुलो पारेको जनाइएको छ । केही समयअघि निजी सवारी साधनहरूलाई जोर बिजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय गरेको सरकारले अब सार्वजनिक सवारी साधनलाई समेत सञ्चालनको अनुमति दिएको छ ।
लामो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालनको बारेमा सरकारले कुनै निर्णय नगरेपनि मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीका यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले विहीबार दिएको जानकारीअनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाभित्र र उपत्यकाबाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र सार्वजनिक यातायातका साधन चलाउन पाइने छ । चालक र सहचालकले मास्क र पञ्जा अनिवार्य लगाउनु पर्ने, ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्ने र यात्रुले पनि मास्क अनिवार्य लगाउनु पर्नेछ ।
यातायात व्यवसायीहरूको असन्तुष्टि
सरकारले झण्डै तीन महिनाभन्दा बढी समयसम्म बन्द रहेका सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि यातायात व्यवसायीहरूले भने आफ्ना मागहरू बेवास्ता गर्दै सरकारले एकतर्फी रूपमा निर्णय गरेको आरोप लगाएका छन् । सरकारले शुक्रवारेखि नै सार्वजनिक यातायात सञ्चान गर्न दिने भने पनि सार्वजनिक सवारी साधनहरू सञ्चालनमा आउने अवस्था नरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । लामो समयसम्म थन्किएर बसेका गाडीहरू मर्मतसम्भार गर्नुपर्ने र मजदुरहरूको पनि व्यवस्थापन गर्नुपर्ने भएकोले तत्तकाल गाडी सडकमा निस्कने अवस्था नरहेको हो । सरकारको निर्णय स्वागतयोग्य भए पनि यातायात मजुरको व्यवस्थापन, गाडीको मर्मतसम्भार तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामग्रीको जोहो, बैंकको किस्ता र ब्याज मिनाहा, रूट परमिट, जाँचपास लगायतका विषयमा सरकारले कुनै निर्णय नगरेकोले यातायात व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका हुन् ।
त्यसैगरी, सरकारले सार्वजनिक सवारी साधनहरू सिट क्षमता अनुसार सञ्चालन हुने नभएपछि भाडादर पनि बढाएको छ । जसअनुसार सरकारले सार्वजनिक सवारी साधनको भाडादरमा ५० प्रतिशत बढाउने निर्णय गरेको हो । मन्त्री डा.खतिवडाका अनुसार हाल कायम भएको भाडामा ५० प्रतिशतले बढाए पनि ट्याक्सीमा भने त्यो नियम लागु हुने छैन ।
बढ्दो संक्रमणमा सचेत हुन आवश्यक
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरू थपिदै गएका छन्, जसले गर्दा उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेको छ । जन स्वास्थ्यविद्हरूका अनुसार सरकारको फितलो रणनीति र आम नागरिकको लापरबाहीका कारण उपत्यकामा जोखिम बढ्दै गएको हो । विहीबारसम्म काठमाडौं उपत्यकामा २ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसअनुसार १ सय ९५ जना काठमाण्डौंमा, ५६ जना ललितपुरमा, र ४३ जना भक्तपुरमा रहेका छन् । तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ५१ जना उपचारपछि घर फर्किसकेको मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा उपत्यकामा ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिहरूमा पनि संक्रमण देखिएको छ । सरकारको पछिल्लो निर्णय अनुसार सार्वजनिक सवारी साधनहरू समेत सञ्चालनमा आए र आवश्यक सावधानीको ख्याल नगरिए स्थिति झनै भयावह बन्न सक्छ । त्यसर्थ उपत्यकामा संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै जाँदा आम नागरिकहरूले पनि समयमै सचेत हुन आवश्यक देखिन्छ ।
