भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् : अमिताभ

कोरोना भाइरसबाट संक्रमित भएपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना भएका बलिउड अभिनेता अमिताभ बच्चनले डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताएका छन् । कोरोना भाइरसविरुद्धको अभियानमा अहोरात्र खटिएका स्वास्थ्यकर्मी सम्बन्धी भिडियो सन्देशमा अभिनेता बच्चनले डाक्टर तथा नर्सलाई ईश्वरको रुप भनेका छन् ।

उनले भिडियो सन्देशमा भनेका छन्, ‘हालै मैले ट्वीटरमा एक पोस्ट हेरेको थिएँ । त्यहाँ सुरतको एक बिलबोर्डको तस्बिर थियो, जसमा लेखिएको थियो–तपाईँलाई थाहा छ अहिले मन्दिर किन बन्द छन् ? किनकी भगवान अचेल सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् ।’ अभिताभले स्वास्थ्यकर्मीलाई ईश्वरको उपमा दिएका हुन् ।



उनले स्वास्थ्यकर्मीसहित अस्पतालमा काम गर्ने सबैमा ईश्वरको रुप रहेको र मानवीयताका लागि काम गरिरहेको बताए । उनले भनेका छन्, ‘तपाईँहरु सबै जीवनदायी बन्नु भएको छ । तपाईँहरुको कामका लागि म हात जोडेर नमन गर्न चाहन्छु । तपाईँहरुको अगाडि म नतमस्तक छु । तपाईँहरु हुनुहुँदैनथ्यो भने मानवता शायद हुँदैनथ्यो होला ।’

अहिलेको समय केही कठीन र असहज रहे पनि संयुक्त प्रयासले यो अप्ठ्यारोलाई जित्न सकिने भन्दै उनले सबैसँग सचेत र आशावादी रहन आग्रह गरेका छन् । सबै एक भएर काम गरेमा चाँडै अहिलेको कठीन परिवेशबाट बाहिर आउन सकिने उनले उल्लेख गरेका छन् ।

उनले नानावती अस्पतालका सबैप्रति आभारी रहेको बताउँदै आफ्नो स्वास्थ्यका लागि सबैको प्रार्थना र कामनाको खाँचो रहेको उल्लेख गरेका छन् । अभिनेता अमिताभ र उनका छोरा अभिषेकलाई शनिबार राति कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यसपछि दुवैजना नानावती अस्पतालको आइसोलेशनमा छन् । उनीहरुको स्वास्थ्य राम्रो रहेको जनाइएको छ ।

सम्बन्धित समाचार