नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असार ।

हरेक वर्ष मनसुन सुरू भएसँगै देशमा बाढी, पहिरो र डुबानका घटनाहरू हुने गरेका छन् । बाढी, पहिरो र डुबानबाट प्रत्येक वर्ष सयौंले ज्यान गुमाउनु परेको छ भने हजारौंले घरविहीन बन्नु पर्ने अवस्था आज पनि कायमै छ । विगतका वर्षहरू झै यो वर्षको मनसुन सुरू भएको एक महिनासम्म फेरि तराइतिर डुबान र पहाडतिर बाढी पहिरोका घटनाहरू भएका छन् ।
नेपालमा गत जेठ ३० गतेबाट मनसुन सुरू भएको थियो । त्यसयता देशभर लगातार सक्रिय मनसुनका कारण प्राकृतिक विपद्का घटनाहरू भएका छन् । राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मनसुन सुरू भएको एक महिनासम्म देशभर बाढी, पहिरो तथा चट्याङ्गका कारण कम्तिमा ९५ जनाको ज्यान गएको छ भने ३८ जना बेपत्ता भएका छन् ।
यो वर्षको मनसुन सुरू भए यता सबैभन्दा धेरै म्याग्दीमा २७ जना, पर्वत र जाजरकोटमा ९–९ जनाले ज्यान गुमाइसकेका छन् भने एक महिनामा पहिरोका कारणले ७६ जना र चट्याङ्गका कारण १९ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा बढी प्रभावित १९ जिल्ला
विपद्कै कारण हालसम्म नेपालका १९ जिल्ला बढी प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बढी प्रभावित हुने जिल्लाहरूमा म्याग्दी, सिन्धुपाल्चोक, पर्वत, बझाङ, काँस्की, जाजरकोट, पाल्पा, लमजुङ, गुल्मी, झापा, चितवन, सल्यान, कालीकोट, सुर्खेत, गोरखा, स्याङ्जा, बाग्लुङ, डोटी र दार्चुला रहेका छन् ।
संकटमाथि थपियो अर्को संकट
विगतका वर्षहरू जस्तै यो वर्ष केवल सक्रिय मनसुनका कारण आइलागेको विपद् मात्रै छैन । देशमा कोरोना भाइरसको अर्काे महामारी पहिलेदेखि नै कायमै छ, जसका कारण संकटमाथि थप अर्को संकट आइलागेको छ र थप जटिलता उत्पन्न भएको छ । तराईदेखि पहाडसम्म सरकारले सम्भावित जोखिमलाई ध्यानमा राखी जनतालाई सतर्क रहन आग्रह गर्ने र भएको क्षतिलाई मूल्यांकन गरी पीडितलाई केही राहत उपलब्ध गराउनबाहेक अन्य कामलाई त्यति ध्यान दिइएको देखिँदैन । विपद्को जोखिमलाई कम गरी दुर्घटनालाई न्युनीकरण गर्न सरकारको तयारी अप्रर्याप्त छ । विपत्तिलाई हामीले कदापि रोक्न सक्दैनौं, तर त्यसबाट हुनसक्ने जोखिमलाई भने कमभन्दा गर्न सक्छौ । त्यसका लागि सरकार मात्रै नभएर आम नागरिकहरूले पनि बेलैमा सावधानी अपनाउनु बुद्धिमानी हुन्छ ।
