‘महानायक’ विवादमा तातेको चलचित्र क्षेत्र : कलाकारहरू डिप्रेसनको अवस्थासम्म

नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय ‘महानायक’ को विषयलाई लिएर टिकापिप्पणी र बहसहरू भइरहेका छन् । सामाजिक सञ्जालमा यतिबेला तातेको राजेश हमाल महानायक हुन् कि होइनन् ? भन्ने कुरालाई लिएर पक्ष र विपक्षमा गर्मागर्मी बहस चलेको छ । यो विषय केवल चलचित्रकर्मीहरूमा मात्रै सीमित छैन, चर्चाको विषय त्योभन्दा बाहिर पनि चल्न थालेको छ । चलचित्रक्षेत्र सम्बन्धि विवादित विषयले समाजिक सञ्जालमा असामाजिक टिकाटिप्पणीका कारण आफूहरू डिप्रेसनको सिकार बन्न पुगेको कतिपय कलाकारहरूले स्वीकार गर्दै आएका छन् ।

के हो यो महानायक प्रकरण विवाद ? चलचित्र क्षेत्रमा चासो राख्ने अधिकाशं मानिसहरूलाई यस विषयको धेरथोर जानकारी हुनुपर्छ । यसको बहस यही असारको पहिलो साता प्रकाश सुवेदीको टेलिभिजन टक सो ‘रजतपट अंकल’ बाट सुरू भयो । सुवेदीसँगको उक्त टक सोमा निर्देशक तथा कलाकार दीपाश्री निरौलाले छताछुल्ल फिल्म खेल्दैमा कोही महानायक नहुने बताएकी थिइन् । उनले राजेश हमालले थुप्रै चलचित्रमा काम गरेर आफ्नो छवि उँचो बनाए पनि समग्र चलचित्र उद्योगलाई भने हाँक्न नसकेको टिप्पणी समेत गरेकी थिइन् ।



कलाकार तथा चलचित्र निर्माता, निर्देशक समेत रहेकी दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै राजेश हमालको ‘महानायक’ को उपाधीमाथि नै प्रश्न उठाएकी थिइन् । राजेश हमालले केही समययता चलचित्र क्षेत्रमा काम नगरेको र कोरोनाको महामारीका कारण समस्यामा परेका चलचित्र प्राविधिकलाई पनि सहयोग नगरेकोमा उनको आरोप थियो । यो समचार तयार पार्दासम्म सुवेदीसँगको उक्त भिडियो दुई लाखभन्दा बढी पटक हेरिएको छ भने तीन हजार बढी लाइक र छ हजार बढी डिसलाइक छन् । झण्डै चार हजारभन्दा बढी प्रतिक्रिया आएका छन्, त्यसमध्येमा अधिकांशले दिपाश्रीमाथि आक्रोस व्यक्त गरेका छन् ।

‘रजतपट अंकल’ मा दीपाश्रीले दिएको अभिव्यक्तिसँगै सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुन सुरू भयो । नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल नै भएको भन्दै अधिकांशले दीपाश्रीको अभिव्यक्तिको खण्डन गरे । उक्त विवादले झनझनै चर्किदै जाँदा राजेश हमालका फ्यानहरूले दीपाश्रीको आलोचना मात्रै गरेनन् धेरैले अपशब्द नै प्रयोग गरेर गाली समेत गरे । आफ्नो भनाइको चौतर्फी आलोचना मात्रै होइन, गालीको वर्षा भएपछि अन्ततः दीपाश्रीले सामाजिक सञ्जालमार्फत माफी नै माग्नुपर्यो । तर दीपाश्रीले गल्ती स्वीकार गरेर माफी माग्दासमेत पनि उक्त विषय भने टुङ्गिएन ।

फरक मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौ ? : दीपकराज गिरी

महानायकका विषयमा धेरैले चलचित्रकर्मीहरूले आजसम्म पनि प्रतिक्रिया जनाइरहेका छन् । दीपाश्रीले माफी मागेपछि कलाकार दीपकराज गिरीले पर्याप्त तयारी नगरी अन्तर्वार्ता दिने, अन्तर्वार्ता भन्नेबित्तिकै हाम्फालेर गइहाल्ने, को राम्रो र को खराब पत्रकार भन्ने पनि थाहा नपाउने र टीआरपी कै लागि अन्तर्वार्ता तोडमोड गरेर अनावश्यक हेडलाइन राख्ने पत्रकारहरूकै नजिक रहनु कलाकारको गल्ती भएको टिप्पणी गरेका थिए । त्यसपछि दीपकराज गिरीले पनि चर्को गालीको सामना गर्नुपर्यो । फेरि पछिल्लो समय सामाजिक संजाल फेसबुकमा एउटा भिडियो अपलोड गर्दै गिरीले नायक राजेश हमाललाई ‘महानायक’ होइनन् भन्ने अधिकार आफूलाई नभएको स्पष्ट पारेका छन् । साथै उनले फरक मत राख्न नदिएर हामी कस्तो समाजको निर्माण गरिरहेका छौ ? भनेर प्रश्न समेत गरेका छन् ।

बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ? : केदार घिमिरे

त्यसैगरी हास्य कलाकार केदारप्रसाद घिमिरेले ‘महानायक’ को विवादको सम्बन्धमा फेसबुकमा लेखेका छन् ‘हो दीपा दिदीको गल्ती थियो, माफी पनि मागिसक्नुभयो । म पनि महानायक राजेश हमालसँग व्यक्तिगत रूपमा माफी माग्छु । कुन गल्तीको सजाय कति भन्ने पनि त होला नि । छिमेकीको बच्चाले साग कुल्च्यो भनेर खुट्टा नै भाँचेर पठाइदिने त ?’ घिमिरेले चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर रिलिज भएपछि सुरूमै १२ सय प्रतिक्रिया नकारात्मक आउँदा आफू झण्डै दोश्रो पटक डिप्रेसनमा गएको पनि उल्लेख गरेका छन् ।

एकपछि अर्को चलचित्र बन्ने आशासमेत शून्य भएको समयबाट करियर सुरू गरें : हमाल

चौतर्फी चर्चाको विषय बनेको महानायक प्रकरणमा स्वयम् महानायक राजेश हमालले समेत प्रतिक्रिया जनाएका छन् । महानायकको विषय विवादमा आएपछि एक अन्तर्वार्तामा उनले आफ्नो करियरको सुरूवातमा नेपाली चलचित्र उद्योगको जुन अवस्था थियो, त्यो आफैंमा मनन् योग्य भएको बताएका छन् । एकपछि अर्को चलचित्र बन्ने आशासमेत शून्य भएको समयबाट आफूले करियर सुरू गरेको स्मरण गर्दै उनले भनेका छन् ‘पछि कयौं फिल्ममा अभिनय नगरेको भए हाम्रो सिनेमा उद्योग यहाँ सम्म आइपुग्नेमा शंका थियो ।’ नेपाली चलचित्र उद्योगमा आवश्कता अनुसार आफ्नो उपस्थिति कायमै रहने बताउँदै हमालले कोही कसैले व्यक्तिगत कुण्ठा पोख्ने वा अरूलाई होच्याउने कार्य नगर्न भनेका छन् ।

‘रजतपट’ को ५०औं भागमा महानायकको उद्घोष

अहिलेको महानायकको विवाद जुन कार्यक्रमबाट सुरू भएको छ, त्यही कार्यक्रमले राजेश हमाललाई ‘महानायक’ उद्घोष गरेको थियो । कान्तिपुर टेलिभिजनमा कार्यक्रम ‘रजतपट’ सञ्चालन गर्दा उक्त कार्यक्रम प्रसारणको ५०औं भागमा पुगेको अवसरमा राजेशलाई नेपाली चलचित्रको महानायक भनेर उद्घोषणा गरिएको थिए । त्यसयता दशकांैदेखि चलचित्र क्षेत्रमा लागिपरेका हमाललाई धेरैले उनको योगदानका आधारमा उनलाई महानायक भन्न थाले ।

सम्बन्धित समाचार