नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।

स्याङ्जाको कालीगण्डकीमा पहिरोमा पुरिएर घाइते भएका एकजनाको मृत्यु भएको छ । कालीगण्डकी गाउँपालिका-४ स्थित खहरेमा माथिबाट खसेको पहिरोमा पुरिएर घाइते भएका ६५ वर्षीय इमानसिंह रानाको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले उनको उपचारका क्रममा स्वास्थ्य चौकीमा मृत्यु भएको बताए । उनीसहित अन्य दुई जनाको उद्धार गरिएको थियो । उनीहरुको उपचार जारी छ । उक्त पहिरोमा पुरिएर अन्य तीनजना बेपत्ता भएका छन् । उनीहरुको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको छ ।
बेपत्ता हुनेमा स्थानीय प्रेमचन्द्र पाण्डे, टीका थापा र जिमानसिंह थापा रहेका छन् । प्रहरी नायव उपरीक्षक अधिकारीका अनुसार सोही ठाउँका चार परिवार विस्थापित भएका छन् । घरमाथिबाट पहिरो जान थालेपछि ती चार परिवारका मानिसहरुलाई उद्धार गरेर अन्यत्र सारिएको प्रहरीले जनाएको छ ।
