नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।

नेपालमा सलह दोश्रो पटक फेरि प्रवेश गरेको छ । जुम्लाको पूर्वी भेग पातारासी गाउँपालिका हुँदै चन्दननाथ नगरपालिकामा सलह किरा देखिएपछि यसको रोकथाम तथा नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालिएको छ । कृषि तथा खाद्य सुरक्षा समितिको बैठकले सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । उनले भने, ‘बैठकमा सलहको विषयमा कृषि विज्ञसँगको राय, सल्लाह, सुझावसहित क्षति कम गर्ने तयारी भइरहेको छ ।’
कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहको परिचयसहित यसले पु¥याउने क्षतिको विषयमा कृषिविज्ञले सरोकारवालालाई जानकारी दिइने बताए । बैठकमा सलह किरा डोल्पा हुँदै जुम्ला पुगेको जानकारी दिइयो । उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसान आफैँले बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलहले भने कुनै बालीमा बसेमा पूरै सखाप पार्ने गरेको छ ।
स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौंको नभई हजारौँको सङ्ख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपु-याएको भएपनि तयारी हुनुपर्ने बताइएको छ । उनका अनुसार रातभरी केही गर्दैन बिहान घाम लाग्ने बित्तिकै बाली खोज्दै जाने यसको विशेषता छ ।
नेपालमा आइरहेको सलह समूह छुट्टै आइरहेको र कमजोर हुँदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजार सलह आइरहेको देखिएको बताए । उनले यसको उत्तम उपाए मेकानिकल उपाय रहेको जानकारी गराए । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको उनले जानकारी दिए । विज्ञले समेत बाजा बजाउने, आगोको धुवाँ बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।
