नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असार ।

स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको आजको वार्ता पनि निष्कर्षविहिन भएको छ । चितवनबाट फर्केपछि प्रचण्ड पार्टीको विवादबारे छलफल गर्न बालुवाटार पुगेका थिए । बालुवाटारमा ओली दाहालबीचको वार्ता भर्खरै सकिए पनि उनीहरुबीच के कुराकानी भयो भन्ने खुलेको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओली र दाहालको छलफल निष्कर्षविहिन भएको जानकारी दिए । ‘उहाँहरुबीच केहीबेर छलफल भएको हो, सुनाउन लायक त्यस्तो केही भएको छैन,’ थापाले भने । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको यो छलफललाई चासोपूर्वक हेरिए पनि अन्ततः बैठक निष्कर्षविहिन भएको छ ।
यसअघि लगातार भएका वार्ता उपलब्धिविहिन भएपछि पार्टीको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको थियो । प्रचण्ड–नेपाल र ओली पक्षको शक्ति संघर्षका कारण पार्टी फुटको संघारमा पुगेका बेला पछिल्लो पाँच दिन दुई अध्यक्षबिच छलफल नै भएन ।
पार्टी भित्रको कलह त्यसै छोडेर प्रचण्ड शनिबार गृहजिल्ला चितवन पुगेका लागे । उनी त्यहाँका विभिन्न क्षेत्रको अवलोकन र भेटपछि सोमबार काठमाडौँ फर्किएपछि मंगलबार ओली–प्रचण्ड वार्ता भएको हो । ओली र प्रचण्डबिच अहिलेसम्म भएका वार्ताले निकास निकाल्न सकेको छैन । ओलीले दुवै पद छोड्नु पर्ने पक्षमा प्रचण्ड–नेपाल समूह छ । तर ओली भने कुनै पनि हालतमा दुवै पद नछोड्ने अडानमा छन् ।
पार्टीको दोस्रो तहका नेताहरु विवाद समाधानका लागि आफूहरु प्रयासरत रहेको र शीर्ष नेतालाई दबाब दिइरहेको बताउँछन् । यस्तै युवा नेताहरुले पार्टी विधान र नीति अनुसार चल्नु पर्ने बताउँदै आएका छन् । स्थायी कमिटि बैठक साउन २ गतेसम्मका लागि स्थगित छ । त्यसअघि सहमति खोज्ने जिम्मा शीर्ष नेतामा रहेको नेकपाले जनाएको छ ।
