
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही समययता विवादित बन्दै आइरहेका छन् । उनी विवादित बन्नुपर्ने अरू कुनै कारणहरू छैनन्, मात्रै उनी आफैं हुन् । अहिलेको नेपाली राजनीतिमा चट्टानी अडान लिन सक्ने राष्ट्रवादी नेताका रूपमा पनि उनलाई धेरै चिन्ने गर्छन । त्यसो त उनी राष्ट्रवादको सवालमा मात्रै नभएर सरकार सञ्चालन र पार्टीभित्र पनि आफ्नो अडानमा सधै अडिक रहने गरेको उनी निकट नेताहरूको बुझाइ छ । यता ओलीइतर खेमाका नेताहरूका अनुसार पार्टीका बैठकहरूमा उनी अरूका कुरा कम सुन्ने र आफ्ना भनाइहरू बढी राख्ने गर्छन् ।
प्रधानमन्त्री ओलीलाई सबै कुराको धेरथोर ज्ञान छ, अर्थात धेरथोर सबै विषयहरूमा उनी चासो राख्छन्, जुन सकरात्मक कुरा पनि हो । धर्म संस्कृति र इतिहासदेखि भूगोलसम्म, स्वास्थ्यदेखि विज्ञानसम्म उनी धाराप्रवाह बोल्न सक्छन् र बोल्छन पनि । तर प्रधानमन्त्री भनेको देशको कार्यकारी पनि हो, जसले गर्दा प्रधानमन्त्रीले बोलेको देशभित्र मात्रै होइन देशबाहिर पनि चासोका साथ हेरिन्छ । त्यसैले प्रधानमन्त्रीले बोल्दा म एक व्यक्तिको मात्रै होइन सिङगो देशको आवाज बोलिरहेको छु भन्ने कुरा बिर्सनु हुदैन । यदि बिर्सिएको खण्डमा त्यसको तत्कालीन र दूरगामी असर पर्न सक्दछ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको बागडोर सम्हाले यता धेरै त्यस्ता अभिव्यक्तिहरू दिइएका छन्, जसले गर्दा उनी ओलोचनाको सिकार बन्न पुगेका छन् । प्रधानमन्त्री ओली कहिले पार्टीभित्र कहिले देशभित्र र कहिले देशबाहिर पनि आलोचित बन्न पुगेका थुप्रै उदाहरणहरू छन् । उनी विवादित बन्न पुगेको पछिल्ला दुई उदाहरण हुन्, ‘सरकार परिर्वतन’ र ‘अयोध्या’ ।
नेकपाको स्थायी कमिटी बैठक लामो समयको अन्तरालपछि गत असार १० गतेबाट सुरू भएको थियो । स्थायी कमिटी बैठकमा सातवटा एजेण्डाहरू समेत तय भएका थिए । त्यहीबीच, प्रधानमन्त्री ओलीले असार १४ गते मदन भण्डारीको ६९औं जन्मदिनका अवसरमा आयोजित कार्यक्रममा नेपालले नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारतको राज्य संयन्त्र र त्यसमा नेपालकै केही नेताहरूसमेत लागेको अभिव्यक्ति दिए । प्रधानमन्त्रीको अभिव्यक्तिपछि स्थायी कमिटी बैठक तय गरेका एजेण्डामाथि नभएर प्रधानमन्त्रीको राजीनामा केन्द्रित हुन पुग्यो । त्यसपछि स्थायी कमिटी बैठक पटकपटक स्थगित हुँदै साउन २ गते सारिएको छ तर अझै बस्छ वा बस्तैन, एकिन छैन ।
प्रधानमन्त्रीको अभिव्यक्तिले नेकपाभित्र मात्रै नभएर सामाजिक सञ्जाल, सञ्चारमाध्यम र विदेशी मिडियामा समेत ठाउँ पायो । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले निम्त्याएको विवाद मत्थर हुन नपाउँदै फेरि अर्को अभिव्यक्तिले विवाद सिर्जना गरिदियो । प्रधानमन्त्री ओलीलेसाउन २९ सोमवार भानुजयन्तीका सन्दर्भमा बालुवाटारमा आयोजना कार्यक्रममाहिन्दू पौराणिक पात्र रामको राज्य अयोध्या भारतमा नभएर नेपालमा पर्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर नेपाल र भारत दुबै देशमा चर्को आलोचना भएपछि परराष्ट्र मन्त्रालयले त्यससम्बन्धमा स्पष्टीकरणसमेत दिनुपर्यो । प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि अयोध्या नेपालकै भए पनि भारतले विवादित अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक अतिक्रमण गरेको बताएका थिए ।
सीमा विवादका कारण पछिल्लो समय नेपाल भारतसम्बन्धमा चिसोपन देखिएका बेला प्रधानमन्त्रीको स्तरबाट एकपछि अर्को विवादित अभिव्यक्ति आइरहेका छन् । दुई देशको सम्बन्धलाई सुधार गर्न अग्रसरता देखाएर ठोस पहल गर्नुपर्ने बेलामा प्रधानमन्त्रीको अभिव्यक्तिले झनै दुई देशबीचको दुरी बढाएको विदेश मामलाका जानकारहरूको तर्क छ । यतिबेला विवादि भूमिलाई समेटेर सरकारले नयाँ नक्सा जारी गरिसकेको छ भने वार्ता र संवादमार्फत भूमि फिर्ता ल्याउन बाँकी नै छ । तर प्रधानमन्त्रीका यस्ता अस्वाभाविक, अपुष्ट अभिव्यक्तिले त्यसमा थप जटिलता उत्पन्न हुने देखिन्छ । प्रधानमन्त्रीले आफ्नो मर्यादाको ख्याल नगरी जसरी आफ्ना अभिव्यक्तिहरू दिइरहेका छन्, त्यसले सरकार र स्वयम् उनकै पार्टीले मूल्य चुकाउनु परिराखेको छ । यसरी हेर्दा जसलाई लक्ष्यगरेर ओलीले बोली प्रहार गरिरहेका भएपनि अन्ततः आफ्ना अभिव्यक्तिहरूको सिकार स्वयम् आफैं बन्न पुगेका छन् ।
