नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।

बाँकेको पूर्वी क्षेत्रमा सलह किरा देखा परेको छ । भारतको श्रावस्ती हुँदै नरैनापुर गाउँपालिकामा प्रवेश गरेको सलह नेपालगञ्जसँग जोडिएको डुडुवा गाउँपालिकामा पनि देखा परेको छ । सलह किराको ठूलो बथान देखिएपछि किसान चिन्तित भएका छन् ।
सलह किराबाट बच्ने उपाय भनेकै खेतबारी बस्न दिन नहुने भएकाले किरालाई धपाउन किसान लागि परेका छन् । भर्खरै रोपेको धान, तरकारीलाई सलहले ठूलो नोक्सानी पुर्याउने अधिकारीहरुले बताएका छन् ।
कृषि ज्ञान केन्द्र, नेपालगञ्जका प्रमुख सागर ढकालले ठूलो बथानमा सलह देखिएकाले किसानले आफ्नो बारीमा बस्न नदिन लाग्नु पर्ने बताए । ‘सलहबाट बच्ने भनेकै खेतमा बस्न नदिनु हो । त्यसलाई धपाउनु हो, ढकालले भने, हामीले त्यो राती कहाँ बस्छ हेर्छौ । बिहानै गएर स्प्रे गर्छौ । स्प्रेसले सलह मर्छ ।’
जिल्लाको पूर्वी क्षेत्रबाट सलह प्रवेश गरेपछि कृषि अधिकारी, किसान खेतबारीमा पुगेका छन् । सलहलाई धपाउन लागि परेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरमा देखिएको सलह पश्चिमतिर बढेकाले बर्दियासम्मका किसानलाई सचेत रहन आग्रह गरेका छन् ।
