नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।
नेपालमा विभिन्न ब्राण्डका मोबाइल फोनका आयातकर्ताहरूको छाता संगठन ‘मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन’ र देशका विभित्र क्षेत्रमा मोबाइल फोनका बिक्री वितरण गर्दै आएका क्षेत्रीय वितरकहरूको छाता संगठन ‘नेपाल मोबाइल वितरक संघ’ को देशभित्र अनाधिकृत-अवैध मोबाइल फोनका कारोबार बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्ता अवैध कारोबार निरूत्साहित गर्न दुवै व्यवसायिक संगठनहरूले आपसमा सहमति गरेको विज्ञप्तिमार्फत् जानकारी गराइएको छ ।
निर्णयहरूमा मिति २०७७-०४-०१ बाट यस मोबाइल फोन इम्पोर्टर्स एशोशिएसनका सदस्यहरूसँग आबद्ध सबै बिक्रेताहरूलाई अनाधिकृत-अवैध मोबाइल फोनको खरीद बिक्री नगर्ने-नगराउने, यस अनुरोधको विपरीत अवैध रूपमा मोबाइल फोनको खरिद बिक्री गरेको प्रमाण पाइएमा सचेत गराउँदै इम्पोर्टर्स एशोशिएसनका कुनै पनि सदस्यसँग व्यापारिक सम्बन्ध नराख्ने, निर्णयलाई अवज्ञा गर्ने ब्यापारीलाई कालो सूचीमा राख्नेलगायत सरकारी निकायलाई कानुनी कारवाहीका लागि सिफारिस गर्नेसम्मका विषयहरू समेटिएका छन् ।
विज्ञप्तिमा अभियानलाई सफल बनाउन सम्पूर्ण ग्राहक वर्ग, सरकारी नियमक निकाय तथा व्यवसायीसँग सहयोगको अपेक्षा पनि गरिएको छ ।