नवकान्तिपुर संवाददाता
काठमाडौं, १ साउन ।

पशुपति क्षेत्र विकास कोषले पशुपतिमा हाल कार्यरत भट्टहरू हटाउन लागेको भनी विभिन्न अनलाइनमा आएका समाचारहरूप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको छ । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान राम र अयोध्याका बारेमा दिएको अभिव्यक्तिपछि पशुपति क्षेत्रमा रहेका भारतीय भट्टहरू सरकारले हटाउन लागेको भन्ने समाचारहरू बाहिरिएपछि कोषले त्यसप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।
पशुपति क्षेत्र विकास कोषले बिहीवार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र कोषले भट्टहरू हटाउने कुनै सोच नबनाएको स्पष्ट पारेको छ ।
नेपाल र भारतबीच सदियौंदेखि जनस्तरसम्म धार्मिक, आध्यात्मिक, सामाजिक र सांस्कृतिक रूपमा रहेको सम्बन्धलाई धुमिल गर्न कतिपय शक्ति सक्रिय रहेको कोषका सदस्य सचिव डा. प्रदीप ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
