नेकपाको स्थायी कमिटि बैठक चार घण्टाका लागि स्थगित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही घण्टाका लागि सरेको छ । आजै (शुक्रवार) दिउँसो ३ बजे बस्नेगरी बैठक सरेको हो । प्राप्त जानकारी अनुसार यतिबेला बालुवाटारमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भइरहेको छ ।

पछिल्लोपटक असार १७ यता चार पटकसम्म स्थगित भएको बैठक आज बस्न लागेको थियो । यसअघि हिजो (बिहिबार) पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नेपालबीच बालुवाटारमा भएको बैठकमा आज हुने स्थायी कमीटि बैठक जारी राख्ने विषयमा सहमती भएको थियो ।



पार्टीमा देखिएको ‘शक्ति समिकरणको’ विवाद समाधान हुन नसक्दा यसअघिका बैठक लगातार स्थगित हुँदै आएका छन् । गत शुक्रबारका लागि तय भएको बैठक आज बिहानसम्मका लागि स्थगित भएको थियो ।

यद्यपी यो बीचमा पनि पार्टीका दुई अध्यक्षबीच भेटवार्ता भयो, तर ठोस निर्णय निस्कन सकेको छैन । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक टुङ्ग्याएर केन्द्रीय कमिटी बैठक बोलाउने तयारी सत्तारुढ नेकपाको छ । तर दुई अध्यक्षबीच कुरा मिल्न सकेको छैन । तर दुई अध्यक्षबीच हिजो बिहिबार भएको सहमति अनुसार स्थायी कमिटी बैठक बसी केन्द्रीय कमिटिको बैठकबाटै पार्टीको विवाद टुंगो लगाउने विषयमा सहमति भएको छ । सो सहमतीसँगै तत्काललाई ओलीको राजिनामा टरेको र विवाद मिल्ने संकेत देखिएको छ ।

सम्बन्धित समाचार