राजु लामिछाने
काठमाडौं, २ साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद यसै अन्त्य हुने छाँटकाँट नदेखेपछि अन्ततः प्रधानमन्त्री केपी ओली राजीनामाको तयारीमा जुटेका छन् । विहीबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसँग एकसाथ वार्तामा बसेका ओलीले प्रचण्ड–नेपाल पक्षका नेताहरुले राजीनामा नै आफ्नो अन्तिम बटमलाइन भएको बताएपछि सम्मानजनक बहिर्गमनको तयारीमा जुटेका हुन् ।
ओलीले आज प्रचण्डसँगको वार्तामा प्रधानमन्त्री पदबाट राजीनामा दिंदै गर्दा आफ्नो ४ शर्त रहेको बताएका थिए । ‘तपाईहरु राजीनामा नै चाहनुहुन्छ भने मेरा पनि केही शर्तहरु रहन्छन् । मेरा शर्त पूरा गर्ने लिखित सहमति गर्नुहुन्छ भने म राजीनामा दिन तयार छु’ ओलीको भनाई उध्रित गर्दै बालुवाटार स्रोतले भन्यो । आजको वार्तामा ओलीका शर्त सुनेपछि प्रचण्डले नेपालसँग छलफल गर्ने र पहिला सचिवालय बैठकमा छलफल गरेर स्थायी कमिटी बैठक बस्ने बताएका थिए ।
ओलीले सशर्त राजीनामा दिने बताएपछि आज ३ बजेको लागि तय भएको स्थायी कमिटी बैठक स्थगित गरेर भोलि सचिवालय बैठक बोलाउन ओली र प्रचण्ड सहमत भएका थिए । ओलीका शर्तबारे भोलि सचिवालयका नेताहरुको धारणा लिने तयारी भएको छ । त्यसपछि आवश्यकताको आधारमा अन्य नेता र स्थायी कमिटीका सदस्यहरुसँग ओलीको शर्तबारे परामर्श लिइने भएको छ ।
यी हुन् ओलीका चार शर्त
१, नयाँ प्रधानमन्त्रीमा आफ्नो पनि सहमति हुनुपर्ने
केपी ओलीले आफू हटेपछि बन्ने प्रधानमन्त्रीमा आफ्नो पनि सहमति लिनुपर्ने शर्त राखेका छन् । ओलीनिकट नेता ईश्वर पोखरेलले पनि हिजो नेता नेपालसँगको भेटमा प्रचण्डबाहेकलाई प्रधानमन्त्री बनाउने भए ओली राजीनामा दिन तयार रहेको बताएका थिए । आज ओलीले उक्त शर्त राख्दै गर्दा प्रचण्डले सोझै प्रचण्ड बाहेक प्रधानमन्त्री बन्नुपर्याे भन्नुस् न भनेर प्रतिउत्तर दिएको बालुवाटार स्रोतको दाबी छ ।
२, एकल कार्यकारी अध्यक्ष
ओलीले राजीनामा दिएपछि आफू एकल कार्यकारी अध्यक्ष हुनुपर्ने शर्त राखेका थिए । ओलीको यो शर्तमा पनि प्रचण्डले भनेपछि म प्रधानमन्त्री पनि बन्न भएन, कार्यकारी अध्यक्ष पनि बन्न भएन भन्दै प्रतिप्रश्न गरेका थिए । त्यसपछि ओलीले दुबै अध्यक्षको व्यवस्थापनबारे अहिले नै जिम्मेवारी बाँडफाँड गर्नुपर्ने बताएका थिए । दुईजना अध्यक्ष रहेपनि आफू कार्यकारी भूमिकामा रहनुपर्ने ओलीको तर्क थियो ।
३, सम्मानजनक बहिर्गमन
ओलीले राखेको अर्को शर्त हो सममानजनक बहिर्गमन । ओलीले तत्काल राजीनामा दिंदा भारतको दवावमा राजीनामा दिएजस्तो हुने हुँदा केही समयपछि राजीनामा दिने शर्त राखेका छन् । तत्काल पार्टीभित्रको विवाद अन्त्य गर्ने र एकाध महिनामा राजीनामा गर्ने लिखित सहमति गर्न ओली तयार रहेको स्रोतको दाबी छ ।
४, सरकार सञ्चालन कार्यदल
ओलीले राखेको अर्को शर्त हो सरकार सञ्चालन कार्यदल । नयाँ सरकारलाई प्रत्यक्ष निर्देशित गर्ने गरी पार्टीभित्र एउटा कार्यदल बनाउन ओलीले प्रस्ताव राखेका छन् । त्यसको संयोजक पार्टी अध्यक्ष रहनेनुपर्ने ओलीको शर्त छ । सरकारमा सहभागि नरहेका पार्टीका शीर्ष नेताहरू सम्मिलित कार्यदल बनाई सोही कार्यदलको परामर्शको आधारमा सरकारका गतिविधी सञ्चालन गर्दा सरकारले गर्ने काम विवादरहित हुने ओलीको तर्क छ । यसहिसाबले ओलीले आफूले राजीनामा दिएपछि पनि सरकार सञ्चालनमा हस्तक्षेप जारी राख्ने तयारी गरेको बुझ्न सकिन्छ ।
ओलीले सशर्त पार्टीभित्रको विवाद अन्त्य र राजीनामा दिन तयार रहेको संकेत गरेपछि आज बस्ने भनिएको स्थायी कमिटीको बैठक यही साउन ४ गतेका लागि सरेको छ । भोलिको सचिवालय बैठकमा यिनै शर्तहरु ओलीले प्रस्तुत गर्ने भएका छन् । सचिवालयपछि स्थायी कमिटी र आवश्यकताको आधारमा केन्द्रीय कमिटीमा पनि पार्टी विवाद अन्त्यको लागि छलफल गर्न सकिनेमा ओली र प्रचण्ड सहमत देखिएका छन् ।