नवकान्तिपुर संवाददाता
काठमाडौं, २ साउन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियुका संयोजक ऐन महरले अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने प्याब्सन र एनप्याब्सनको निर्णय फिर्ता लिन आग्रह गरेका छन् । शुक्रवार रिपोर्टस क्लव नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै संयोजक महरले यस्तो आग्रह गरेका हुन् ।
निजी विद्यालयको विषयमा सरकारले कुनै निर्णय गर्न नसकेको भन्दै प्याब्सन र एनप्याब्सनले हिजो (विहीबार) देखि अनलाइन र भर्चुअल कक्षा बन्द गर्ने निर्णय गरेको थियो । प्याब्सन र एनप्याब्सनले उठाएका भाडा, लोन र कर्मचारी र शिक्षकको तलबको समस्यामा आफूहरूको पनि ध्यानाकर्षण भएको भन्दै संयोजक महरले विद्यालय, शिक्षक र विद्यार्थी सबैका सबै समस्याहरूलाई एउटै प्याकेजमा समाधान गर्नुपर्नेमा जोड दिए । साथै उनले कोभिड–१९ ले निम्त्याएको संकटको बेला निजी विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व पनि वहन गर्नुपर्ने बताए ।
संयोजक महरले सबै नागरिकको शिक्षा पाउने अधिकार हुन्छ भनेर संविधानमा नै उल्लेख भएको भए पनि व्यक्तिलाई शैक्षिक संस्था खोल्ने अधिकार नभएको बताए । उनले भने ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संख्था खोल्ने भन्ने कुरा उल्लेख गरेको छ ।’ साथै उनले सामुदायक विद्यालयको गुणस्तर कमजोर हुनुका कारणले निजी विद्यालय फस्टाएको जिकिर गरे । ‘शिक्षा समाजको सबैभन्दा महत्वपूर्ण क्षेत्र हो, यसले समाजलाई संस्कार र नैतिकता सिकाउँछ अनि जिम्मेवार र कर्तव्य बोध गराउँछ’ संयोजक महरले भने ‘यो क्षेत्रमा गैरजिम्मेवार, लाचार र बौलठीपन बन्ने कुराले ठीक ठाउँमा पुगिँदैन ।’
कोभिड–१९ का कारण करिव ९० लाख विद्यार्थीहरू प्रभावित भएको र उनीहरूको शैक्षिक भविष्य अन्यौलमा परेको महरको भनाइ थियो । ‘लाखौ विद्यार्थीहरूको भविष्य अन्यौलमा पर्नु भनेको देशको भविष्य अन्यौलमा पर्नु हो’ महरले भने ‘त्यसैले हामी सबैले आरोप प्रत्यारोप गर्ने र एक अर्कालाई हिलो छ्याप्ने काम भन्दा पनि सबै सरोकारवालासँग छलफल र वहस गरेर समाधानको उपाय खोज्नतर्फ लागौं ।’
