नेकपा सचिवालय बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । सचिवालय बैठकले नेकपाको पछिल्लो विवाद समाधानको प्रयास गर्नेछ । सचिवालय बैठक दिउँसो तीन बजे बस्ने छ ।

पार्टीभित्र विवाद चर्किदै जादा गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठक पटक पटक स्थगित भएको छ । स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।



विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएको थियो । तर ती छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमा फर्किएका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।

शुक्रबार ओली र प्रचण्डबीच भएको छलफलमा स्थायी कमिटी बैठक स्थगित गरेर सचिवालय बैठक बोलाउने सहमति भएको थियो । सचिवालय बैठकपछि आइतबार स्थायी कमिटी बैठक बस्ने भएको छ । पार्टीभित्रको विवाद समाधानको लागि आवश्यकताअनुसार सचिवालय, स्थायी कमिटी हुँदै केन्द्रीय कमिटी बैठकसम्म बस्नेमा नेकपा र्शीष नेताहरु सहमत भएका छन् ।

सम्बन्धित समाचार