नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ साउन ।

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि विभिन्न माग राखी सत्याग्रह गरेको ‘इनफ इज इनफ’ का कार्यकर्ताद्वारा सरकारले आफूहरुसँग भएको सहमति कार्यान्वयनका लागि कुनै पहल नगरेको भन्दै अभियानले पुनः सत्याग्रह थाल्ने भएको छ ।
सहमतिको १२ दिन बित्दा पनि स्वास्थ्य मन्त्रालयले सो कार्यान्वयनका लागि पहल नगरेकाले बाध्य भएर पुनः आन्दोलन थाल्ने निर्णय भएको अभियानले जनाएको छ । स्वास्थ्य मन्त्रालय र इनफ इज इनफका सत्याग्रहीबिच १२ दिनअघि हप्तादिन भित्र सहमति कार्यान्वयन गर्ने गरी १२ बुँदै सम्झौता भएको थियो ।
तर दोस्रो चरणको फलोअप बैठकपछि कार्यान्वयनका लागि पाँच दिनको समय थप गरिएको थियो । यो अवधिमा पनि केही पहल नभएको भन्दै अभियानले शनिबार दिउँसोदेखि पुनः आन्दोलन थाल्ने बताएको हो । इनफ इज इनफ अभियानले शनिबार दिउँसो १२ बजेपछि काठमाडौँको वसन्तपुरमा आम सत्याग्रहको घोषणा गर्ने जनाएको हो ।
सो अभियानले कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास प्रभावकारी बनाउनु पर्ने, नागरिकको जीवन रक्षा गर्नु पर्ने, कोरोना भाइरसको परीक्षण शतप्रतिशत पीसीआर विधिबाट हुनु पर्नेसहितका माग राखेर आन्दोलन गरेका थिए । स्वास्थ्य मन्त्रालय र १२ दिनसम्म सत्याग्रहमा बसेका अभियन्ताबिच ती माग पूरा गर्नेबारे १२ बुँदे सहमति भएको थियो ।
