मंसिरमा महाधिवेशन गर्न ओली–प्रचण्ड सहमत, नेपाल पक्ष भन्छ– प्रचण्डले फेरि धोका दिए

पार्टीको पछिल्लो विवादमा वारपार देखिएका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबारको सचिवालय बैठकमा नाटकीय रूपमा मिलेका छन् । बैठकको शुरूवातमै बोलेका ओलीले पार्टीभित्रको विवाद मिलाउन र पार्टी एकतालाई जोगाउन चाँडै महाधिवेशन बोलाउनुपर्ने प्रस्ताव राखे भने ओलीको प्रस्तावमा प्रचण्डले सहमति जनाए । तर वरिष्ठ नेता माधव नेपाल पक्षका नेताहरूले भने दुई अध्यक्षबीच चोचोमोचो मिल्दैमा अहिलेको विवाद समाधन नहुने भन्दै कडा प्रतिवाद गरेको थियो ।

बैठकको शुरूवातमा बोल्दै ओलीले पार्टीभित्रका शीर्ष नेताहरूले आ–आफ्नो गल्ती कमजोरीलाई आत्मा आलोचना गरेर अगाडि बढ्नुपर्ने बताएका थिए । ‘अहिले आत्माआलोचना गरौं, मंसिरभित्र पार्टी महाधिवेशन बोलाउन म प्रस्ताव गर्दछु । बाँकी विवाद माहाधिवेशनले मिलाउँछ’ ओलीको भनाई उध्रित गर्दै एक स्थायी कमिटी सदस्यले भने । चाँडै महाधिवेशन गरेर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिवद्धता ओलीले जनाएका थिए ।



ओलीपछि बोलेका प्रचण्डले ओलीको प्रस्तावमा समर्थन गर्दै महाधिवेशनबाटै विवाद समाधान गर्दा राम्रो हुने बताएका थिए । त्यतिमात्र नभएर प्रचण्डले आफूले आलोपालो सरकार चलाउनुपर्ने कुरा पनि छाडेको र पार्टी एकता अगाडि बढाउने र चाँडै महाधिवेशन गर्नेबारे ओलीसँग सहमति भएको जानकारी गराएका थिए । विवाद बढ्दै जाँदा पार्टीको जनमत घट्न सक्ने र फुटको अवस्था आउन सक्ने भन्दै महाधिवेशनको विकल्प नभएको प्रचण्डको भनाइ थियो ।

बैठकमा प्रचण्डपछि बोलेका नेता नेपालले पार्टी सञ्चालनको प्रवृत्ति नफेरिने र पार्टी विधिअनुसार नचल्दासम्म दुई अध्यक्ष मात्र मिलेर विवाद समाधान नहुने बताएका थिए । दुई अध्यक्षबीचको चोचोमोचो मात्र मिलाउने हो भने राष्ट्रव्यापी कार्यकर्ता भेला गरेर बहस चलाउँने चेतावनी नेपालले दिएका थिए । पार्टी सदस्यता टुंगिनसकेको बेला चाँडै महाधिवेशन गर्ने कुरा सम्भव नहुने उनको तर्क थियो ।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि तत्काल महाधिवेशन सम्भव नभएको बताएका थिए । त्यसैगरी उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेता नेपालको कुरामा समर्थन जनाएका थिए । तर उपप्रधानमन्त्री ईश्वर पोख्ररेल र गृहमन्त्री रामबहादुर थापाले भने अध्यक्षद्वयको कुरामा समर्थन जनाएका थिए । महासचिव विष्णु पौडेलले भने स्थायी कमिटीमा थप छलफल गराएर निर्णयमा पुग्न सकिने बताएका थिए ।

प्रचण्डले ओलीसँग गोप्य सहमति गरेको नेपाल पक्षको आशंका
शनिबारको सचिवालय बैठकमा एकाएक ओली र प्रचण्ड मिलेर महाधिवेशनको प्रस्ताव ल्याएपछि प्रचण्डसँग नेपाल पक्ष रूष्ट बनेको छ । ओलीको राजीनामा नै आफूहरूको बटमलाईन भएको भन्दै आफूहरूसँग कुरा गरिरहेका प्रचण्डले ओलीलाई समर्थन गर्नुमा गोप्य सहमति भएको हुन सक्ने नेपाल पक्षको आशंका रहेको छ ।

त्यसो त ओली र प्रचण्डबीच ओलीलाई ५ वर्ष नै प्रधानमन्त्री बनाउने र महाधिवेशनमार्फत प्रचण्डलाई अध्यक्ष बनाउने र आगामी निर्वाचनपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन सघाउने सहमति भएको चर्चा छ । महाधिवेशनबाट अध्यक्ष बन्ने र निर्वाचनपछि प्रधनजमन्त्री बन्ने ज्ञारेन्टी भएपछि प्रचण्डले नेपाल पक्षलाई धोका दिएर ओलीसँग मिल्न पुगेको बताइन्छ ।

नेकपाको स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । आजको बैठकमा ओली र प्रचण्डले महाधिवेशनको प्रस्ताव पेश गर्ने तयारीमा छन् । उनीहरूको प्रस्तावलाई स्थायी कमिटीको सदस्यहरूले कुन रूपमा लिनेछन् भन्ने विषयले नेकपाको आगामी यात्रा तय हुने देखिएको छ ।

सम्बन्धित समाचार