नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै पद छाड्नुपर्ने माग उठेपछि असार २० यता लगातार स्थगित हुँदै आएको बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुन लागेको हो ।
स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि फुटको संघारमा पुगेको नेकपाको विवाद तत्कालका लागि मत्थर हुने संकेत देखिएको छ । शनिबार भएको सचिवालय बैठकमा ओलीले २०७७ चैतमा गर्ने भनिएको महाधिवेशन आगामी मंसिरमै गर्ने प्रस्ताव अघि सारेपछि प्रचण्डले सहमति जनाएको बताइएको छ ।
योसँगै ओलीले तत्काल दुबै पदबाट राजीनामा दिन नपर्ने भएको छ । तर, अग्रिम महाधिवेशनको प्रस्तावमा माधवकुमार नेपालले असहमति राखेकाले अझै ठोस सहमति हुन सकेको छैन । पार्टी एकताको काम नै पूरा नभएको अवस्थामा आउने मंसिरमै महाधिवेशन गर्न सम्भव नहुने नेपालको भनाइ छ । वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि ओलीको प्रस्तावमा असहमत देखिएका छन् ।
अग्रिम महाधिवेशनको विषय दुई अध्यक्षको सहमतिमा मात्र नभई स्थायी कमिटी र केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने नेता नेपालको माग छ । नेपालले दुई अध्यक्षबीचको सहमतिबाट मात्रै नभई पार्टी कमिटीबाट निर्णय हुनुपर्ने अडान लिएका छन् ।
सचिवालय बैठकलगत्तै शनिबार साँझ अध्यक्षद्वय ओली र प्रचण्डले शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्श गरेका थिए । राष्ट्रपतिको मध्यस्थतामा कुनै सहमति भएको अनुमान गरिएको छ तर त्यसबारे कुनै कुरा खुलाइएको छैन ।