नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।

भगवान शिवको पूजा तथा दर्शनका लागि विशेष रुपमा लिइने साउने सोमबार यो वर्ष अघिल्ला वर्षको जस्तो विशेष नहुने भएको छ । पशुपति क्षेत्रमा भक्तजनले आफू उपस्थित भएर दर्शन तथा पूजा आराधना गर्न यो वर्ष पाउने छैनन् । कोरोना भाइरसको महामारीका कारण लागु भएको लकडाउन र मानिसहरु भेला हुन नपाउने सरकारी नियमका कारण सर्वसाधारणका लागि पशुपतिनाथ मन्दिर खुला नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
साउनको पहिलो सोमबार (भोलि साउन ५ गते) का लागि विशेष व्यवस्था नगरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका प्रवक्ता भोला सिटौलाका अनुसार साउने सोमबार पनि नित्य पूजा मात्रै हुने र दर्शनार्थीका लागि खुला गरिने छैन ।
उनले भने, ‘अहिलेको परिस्थिति विषम छ । सरकारले लागु गरेको नियम मान्नु हाम्रो पहिलो प्राथमिकता हो । सरकारले मठ मन्दिर खुला गर्ने स्वीकृति दिएको छैन । सोही कारण यो वर्षको साउने सोमबार पशुपतिनाथ भक्तजनका लागि खुला हुँदैन ।’
उनले थप प्रष्ट पार्दै भनेका छन्, ‘अहिले मन्दिर बन्द छ । सोमबार पनि खुला हुँदैन । तर सरकारले मन्दिर खुला गर्ने निर्णय गरेमा साउनका अरु सोमबार दर्शन गर्न पाइने हुन सक्छ । त्यसका लागि हामीले तयारी गरेका छौँ ।’
