नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।

कोरोना महामारी समयमा पनि आफ्नो कामलाई निरन्तरता दिदै आएका फोहोरमैला व्यवस्थापकहरूलाई संस्कार समाज नेपालले राहत प्रदान गरेको छ । गंगबु आवास क्षेत्र गंगबुमा शनिबार आयोजित एक कार्यक्रमका बीच संस्कार समाज नेपालले फोहोरमैला व्यवस्थापकहरूलाई राहत प्रदान गरेको हो ।
संस्कार समाज नेपाललेगंगबु तथा सामाखुशी क्षेत्रमा ‘वेष्ट कलेक्सन’ मा कार्यरत आनन्द राई, याम आले मगर, अरूण श्रेष्ठ, सुब्बा तामाङ र धनबहादुर लामालाई संस्थाले ५ थान अडियो स्पिकर, साबुन तथा माक्स लगायतका स्वास्थ्य सामाग्रीहरूप्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङलेमहामारीको समयमा पनि जोखिम मोलेर कार्य गर्दै आएका फोहोरमैला व्यवस्थापकहरूलाई हौसला मिलोस् भन्ने उदेश्यले सहयोग प्रदान गरिएको बताइन् । कोरोना महामारीको समयभन्दा अगाडि संस्कार समाज नेपालले प्रत्येक शनिबार गर्दै आइरहेको नियमित सरसफाई तथा जनचेतनामूलक कार्यक्रममा समेत व्यवस्थापकहरूले साथ दिदै आएको स्मरण गर्दैै अध्यक्ष गुरूङले आगामी दिनहरूमा पनि आफूले यस्तै साथ र सहयोगको अपेक्षा गरेको बताइन् । ‘कोरोनाले गर्दा अहिले अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ, तर पनि यस्तोबेला जोखिम मोलेर आफ्नो कामलाई निरन्तरता दिनु भनेको एकदम प्रशंसनीय काम हो’ अध्यक्ष गुरूङले भनिन् ‘त्यसैले हामीले जोखम मोलेर काम गरिरहेका व्यवस्थापकहरूका लागि केही राहत होस् भनेर अडियो स्पिकर केही स्वास्थ्य सामाग्री प्रदान गरेका हौं ।’
कोभिड–१९ का कारण अप्ठ्यारोमा परेकोहरूलाई संस्कार समाज नेपालले चरणबद्ध रूपमा राहत तथा सहयोग गर्दै आइरहेको अध्यक्ष गुरूङको भनाई थियो । संस्कार समाजको यो पाँचौ चरणको सहयोग तथा राहत वितरण कार्यक्रम भएको भन्दै उनले यसअघि पहिलो चरणमा चालीस परिवारलाई खाद्यान्न वितरण, दोश्रो चरणमा सामाखुशीमा रहेको मातृभूमि चाईल्ड होमलाई,तेस्रो चरणमा सपोटिङ्ग चिल्ड्रेन इनिसिएटिभ फाउण्डेशन नेपाललाई खाद्यन्न तथा लत्ताकपडा सहयोग गरेको बताइन् ।त्यसैगरी उनले चौथो चरणको राहत वितरण कार्यक्रममा मृगौला पीडितहरूलाई आर्थिक तथा जिन्सी सामग्री सहयोग गरेको जानकारी गराइन् ।
सहयोग ग्रहण गरेपछि कार्यक्रममा बोल्दै आनन्द राइले संस्कार समाज नेपालले पहिलो चरणमा खाद्यान्न सहगोग गरेको र अहिले फेरि अडियो स्पिकर तथा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा संस्थाप्रति आभार व्यक्त गरेका थिए । साथै उनले संस्कार समाज नेपालले विगत तीन बर्षदेखि सञ्चालन गर्दै आइरहेको सरसफाई तथा जनचेतनामूलक अभियानले गंगबु आवास क्षेत्रमा पहिलेभन्दा धेरै नै परिवर्तन भएको भन्दै संस्थाको प्रशंसासमेत गरेका थिए ।
