नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान (NFRS) प्रणालीमार्फत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको विभिन्न विधाहरूमध्ये वित्तीय क्षेत्रतर्फ आर्थिक वर्ष २०७५-०७६ को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार मुक्तिनाथ विकास बैंकले प्राप्त गर्न सफल भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले Best Presented Annual Report Award विभिन्न ५ विधामा प्रस्तुत गरेको थियो । ती विधाहरूमा बैंकिङ्ग क्षेत्र, वित्तीय क्षेत्र, बीमा क्षेत्र, सार्वजनिक क्षेत्र ईकाइ र सामान्य क्षेत्र रहेका थिए । विकास बैंक र वित्त कम्पनीहरूमध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको हो ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाधक्ष्यको सपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उक्त समारोहका विशेष अतिथि महालेखा परिक्षक टंकमणि शर्मा दंगालले मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख अधिकृत प्रद्युमन पोखरेललाई पुरस्कार हस्तान्तरण गरेका थिए । बैंकिङ्ग क्षेत्रमा उक्त पुरस्कारलाई अति प्रतिष्ठित पुरस्कार मान्ने गरिन्छ ।