माधव र झलनाथले झपारेपछि महाधिवेशनको एजेण्डाबाट पछि हटे प्रचण्ड

शनिबारको सचिवालय बैठकमा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव गर्दा एकाएक समर्थन गर्न पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २४ घण्टा नपुग्दै सो समर्थन फिर्ता लिएका छन् । आज बिहान आफ्नै निवास खुमलटारमा वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालसँगको परामर्शपछि प्रचण्ड मंसिरमै महाधिवेशन गर्ने एजेण्डाबाट पछि हटेका हुन् । प्रचण्ड महाधिवेशनको एजेण्डाबाट पछि हटेपछि ओलीले थप रणनीति तय गर्नुपर्ने अवस्था आएको भन्दै आजको लागि तय भएको स्थायी कमिटी बैठक मंगलबारका लागि सारेका छन् ।

खुमलटारमा भेला भएका ओली इत्तरका नेताहरुले मंसिरमा महाधिवेशन सम्भव नभएको निष्कर्ष निकालेको थियो । उक्त छलफलको शुरुमै प्रचण्डले ओलीसँगको पटक पटकको छलफलमा भएको विषय र हिजो राती राष्ट्रपति विद्या भण्डारीसँग भएको छलफल सविस्तार सुनाएका थिए । महाधिवेशनबाट विवाद समाधान गर्ने प्रस्ताव पार्टी विभाजनलाई रोक्ने सक्ने भएकोले सार्थक जनाएको प्रचण्डको भनाइ थियो ।



तर प्रचण्डपछि बोल्दै नेता नेपालले मंसिरमा महाधिवेशन कसरी सम्भव छ भन्दै प्रचण्डलाई झपारेका थिए । ओलीले तत्काल राजीनामा नदिनको लागि महाधिवेशनको जाल थापेको भन्दै प्रचण्डलाई ओलीसँग सती नजान चेतावनी दिएका थिए । ‘तत्काल कोरोनाको प्रभाव हट्ने देखिँदैन, लगत्तै दशैं तिहारजस्ता ठूला चाडवाड आउँछन् । कहिले पार्टी सदस्यता बढ्ने ? कहिले महाधिवेशन गर्ने ? आजैबाट तयारी गरेपनि एक वर्ष महाधिवेशन सम्भव छैन । मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई के आधारमा समर्थन गर्नुभयो ? कि ओलीसँग तपाईको केही गोप्य सहमति भएको छ ?’ नेपालले प्रचण्डलाई प्रश्नमाथि प्रश्न खन्याएका थिए ।

माधवबाट प्रश्नहरुको बाढी आएपछि प्रचण्डले माधवलाई रोकेरै ओलीसँग कुनै सहमति नभएको बताएका थिए । सबै साथीहरुले मंसिरमा महाधिवेशन सम्भव छैन भन्नुहुन्छ भने म ओलीलाई दिएको समर्थन फिर्ता लिन्छु, प्रचण्डको भनाइ उध्रित गर्दै खुमलटार स्रोतले भन्यो । अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि मंसिरमा महाधिवेशन सम्भव नभएको भन्दै दुबै पद जोगाउने ओलीको चाल भएको बताएका थिए ।

नेपाल, खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन सम्भव नभएको बताएपछि प्रचण्ड सो एजेण्डाबाट पछि हटेका छन् । लगत्तै प्रचण्डले ओलीलाई फोन गरेर मंसिरमा महाधिवेशन सम्भव नरहेको भन्दै साथीहरुले सो एजेण्डाबाट पछि हट्न दवाव दिएको सुनाएका थिए । ओलीले आजको स्थायी कमिटी रोकेर थप छलफलमा जुट्न आग्रह गरे । त्यसपछि आजको लागि तय भएको स्थायी कमिटी बैठक मंगलबारसम्मको लागि स्थगित भएको छ ।

राष्ट्रपतिलाई भेट्न के को हतारो ?

छलफको क्रममा प्रवक्ता श्रेष्ठले नै प्रचण्डलाई ओलीसँग राष्ट्रपतिलाई भेट्न किन जानुपरेको भन्दै प्रश्न गरेका थिए । ओलीसँग मिलेर राष्ट्रपतिलाई भेट्न जाँदा थप आशंका उब्जिएको उनको भनाइ थियो । तर प्रचण्डले भने परिबन्दमा परेर राष्ट्रपतिलाई भेट्न जानुपरेको बताएका थिए ।

सचिवालय सकिनासाथ ओलीले निवासतिर जाउँ भनेको र लगत्तै शीतलनिवासबाट बोलावट भयो भन्दै राष्ट्रपतिलाई भेट्न जान प्रस्ताव गरेकोले नाइँ भन्न नसकेको प्रचण्डको प्रष्टोक्ति थियो । राष्ट्रपतिसँगको भेटमा पनि  मंसिरमा महाधिवेशन सम्भव छैन भन्दाभन्दै पनि ओलीले ‘हल्का रूपमा गर्दै जाउँ’ भनेकोले आशंका गर्ने ठाँउ रहेको प्रचण्डको भनाइ थियो ।

सम्बन्धित समाचार