नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।

पछिल्लो २४ घण्टायता लमजुङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
यसअघि गत शुक्रबार पनि लमजुङमा एकैदिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार संक्रमण पुष्टि हुनेमा लमजुङ मस्र्याङ्दी गाउँपालिकाका ६ जना, दोर्दीं गाउँपालिकाका ४ जना, राइनास नगरपालिका ६ जना पुरुष र १९ महिने बालिकासहित २ महिला, दूधपोखरीका ३८ वर्षीय एक पुरुष, क्वोलासोंथरका २ जना पुरुष र बेंसीसहरका ४७ वर्षीय एकजना पुरुष रहेका थिए ।
यता नेपालभरमा भने आइतबार १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ ।
कोरोना निको भएर आइतबार ५८ जना घर फर्किएका छन् । यससँगै कोरोना मुक्त हुनेहरुको संख्या भने ११ हजार छ सय ९५ पुगेको छ। कोरोनाबाट नेपालमा ४० जनाको मृत्यु भइसकेको छ।
