नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ साउन ।

पछिल्लो २४ घण्टायता नेपालमा १५६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा तीन हजार ७४१ जनामा परीक्षण गर्दा १५६ जनामा सङ्क्रमण देखिएको बताए ।
आज देखिएका सङ्क्रमितसँगै सङ्क्रमितको सङ्ख्या १७ हजार ६५८ जना रहेका छन् । नयाँ देखिएका सङ्क्रमित सप्तरीका ३२, सर्लाही २५, कैलाली २४, नवलपरासी र बर्दिया १०-१० जना, पर्सा सात, कास्की, म्याग्दी र लमजुङ छ-छ जना, बाँके र दाङमा पाँच-पाँच जना रहेका छन् । यस्तै ललितपुर, रौतहट, स्याङ्जा, रुपन्हेदी, डडेल्धुरामा दुई-दुई जना र सुनसरी, सिरहा, बारा, काठमाडौं, मोरङ, मकवानपुर, बागलुङ, पर्वत, प्यूठान, सल्यानमा एक-एक जना सङ्क्रमित रहेका छन् ।
उनका अनुसार आज कोराेना जितेर घर फर्कनेको सङ्ख्या ५८ जना रहेको छ । योसँगै ११ हजार ६९५ जना सङ्क्रमण जितेर घर फर्किएका छन् । यो ६६.२४ प्रतिशत रहेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आठ जिल्ला कोरोनामुक्त भएका छन् । कोरोनामुक्त जिल्लामा भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र जुम्ला रहेका छन् ।
अहिलेसम्म नेपालमा प्रति १० लाखमा १.४ प्रतिशत मात्र मृत्युदर रहेको छ । नेपालमा हालसम्म ४० जनाको कोरोनाबाट मृत्यु भएको छ ।
