नवकान्तिपुर संवाददाता
काठमाडौं, साउन ।
नेकपाभित्र देखिएको विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको भेटवार्ता सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ दुई अध्यक्षबीच दुई घण्टाभन्दा बढी छलफल भएको हो।
दिउँसो ४ बजे बालुवाटार पुगेका दाहाल साँझ ६ः४५ बजे बाहिरिएका थिए । वार्ताको क्रममा प्रचण्डले मंसिरमा महाधिवेशन गर्न सम्भव नरहेको बताएका थिए । शनिबारको सचिवालय बैठकमा मंसिरमा एकताको महाधिवेशन गर्ने ओलीको प्रस्तावलाई प्रचण्डले समर्थन गरेका थिए। तर आइतबार बिहान प्रचण्डले आफू निकट नेताहरुसँगको परामर्शपछि महाधिवेशनको एजेण्डाबाट पछि हटेका थिए ।
आज बिहान प्रचण्डसँगको छलफलमा नेताहरु माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले मंसिरमा महाधिवेशन हुनेमा आशंका व्यक्त गरेका थिए।
असार १८ गतेदेखि स्थायी समिति बैठक स्थगित गरेर विवाद समाधानका लागि छलफल गरिरहेका दाहाल दशौं पटक आइतबार पनि ओलीसँग छलफल गर्न बालुवाटार पुगेका हुन्।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिन दबाव दिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो। स्थायी समिति बैठक फेरि मंगलबारसम्मका लागि स्थगित भएको छ।