नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ साउन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २३ गते भक्तपुरका चार जनासहित काठमाडौं उपत्यकामा २८ जनामा संक्रमण देखिएको विवरण सार्वजनिक गर्यो ।
भक्तपुरका संक्रमितमध्ये भक्तपुर नगरपालिका र मध्यपुर थिमि नगरपालिका गठ्ठाघरका एक–एक जना र सूर्यविनायक नगरपालिका बालकोटका दुई जना थिए । अरूलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आइसोलेसनमा पठाए पनि गठ्ठाघरकी महिला सम्पर्कमा आइनन् । ईडीसीडीको कन्ट्रोल रुमका अनुसार उनी ‘सम्पर्कविहीन संक्रमित’ हुन् ।
असार २५ मा उपत्यकामा संक्रमण पुष्टि भएका ४८ मध्ये चार जना अझै सम्पर्कमा आएका छैनन् । त्यस दिन संक्रमित पाइएका तर सम्पर्कमा नरहेकामा जनकपुर स्थायी ठेगाना भएका एक, कागेश्वरी मनोहराका एक, रौतहट स्थायी ठेगाना भएका एक र भक्तपुरका एक जना सम्पर्कमा नआएका हुन् । यस्तै, असार २७ मा उपत्यकामा रहेका तर स्याङ्जा वालिङ स्थायी ठेगाना भएका एक जनालाई गलत फोन नम्बर राखेकै कारण पत्ता लगाउन सकिएको छैन । आजको कान्तिपुर दैनिक लेख्छ–१० दिनयता उपत्यकामा संक्रमण पुष्टि भएकामध्ये घरमै छन् कि खुलेआम हिँडिरहेका छन् कुनै पत्तो छैन ।
यसरी संक्रमित व्यक्तिहरु सम्पर्कविहीन हुनु अरु सर्वसाधारणको लागि धेरै खतराको कुरा हो । संक्रमित व्यक्तिहरु कि त सरकारले तोकेको अस्पतालमा उपचार गराउनुपर्दछ कि त आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्नुपर्दछ । उनीहरु खुला रुपमा हिंड्नुहुँदैन नत्र स्थिति भयावह हुन सक्छ ।
