नवकान्तिपुर संवाददाता
काठमाडौं
पार्टीभित्रको पछिल्लो विवादको विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार पूर्व माओवादी नेताहरूसँग छलफल गरेका छन् । उनले पूर्वमाओवादीसम्बद्ध स्थायी कमिटी सदस्यहरूलाई आफ्नै निवास खुमलटारमा बोलाएर छलफल गरेका हुन् । छलफलमा प्रचण्डले यसबीचमा प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ताबारे ब्रिफिङ गरेका थिए ।
छलफलका क्रममा प्रचण्डले ओलीका पछिल्ला गतिविधिले पार्टी एकता धरापमा परेको निष्कर्ष सुनाएका थिए । साथै प्रचण्डले ओलीले चालेका पछिल्ला कदमहरू एकपछि अर्को असफल भएको बताएका थिए । विवादास्पद अध्यादेशदेखि बजेट अधिवेशनको अन्त्यसम्म आउँदा ओलीका कदमले उनलाई नै तल पुर्याएको प्रचण्डको भनाइ थियो । त्यसकारण ओली जनतामा थप गिरेकोले आफूले हस्तक्षेप गनुपर्ने अवस्था आएको प्रचण्डको भनाइ थियो ।
ओलीलाई पदमै राख्दा जनमत बिग्रने र राजीनामामा जोड दिंदा पार्टी फुट्न अवस्था श्रृजना भएको बताएका थिए । यीलगायत ओलीले प्रस्ताव गरेको अर्ली महाधिवेशनको बारेमा पनि आफूले परामर्श लिन भेला बोलाएको प्रचण्डले बताएका थिए ।
भेलामा सहभागी नेताहरूले पार्टी एकता जोगाउनु अहिलेको आवश्यकता रहेको बताएका थिए । पार्टी एकता जोगाउँदै ओलीको राजीनामा माग्न प्रचण्डलाई सहभागी नेताहरूले सुझाव दिएका थिए । राजीनामाको कुरा यतिबेला चर्को रूपमा उठेकोले तातेकै बेलामा घन हान्दा परिणाम निस्कने भन्दै यतिबेला ओलीलाई राजीनामा गराउन नसके ५ वर्ष नै ओलीले सरकार चलाउने र नेकपाको जनमत थप बिग्रने सहभागी नेताहरूको सुझाव थियो ।
मंसिरमा महाधिवेशनको सवालमा पूर्वमाओवादी निकट सबै स्थायी कमिटीका सदस्यहरूले असम्भव रहेको जिकिर गरेका थिए । राजीनामाको विषय टार्न नै ओलीले अर्ली महाधिवेशनको कुरा उठाएकोले त्यसलाई कुनै पनि हालतमा नस्वीकार्न प्रचण्डलाई उनीहरूले सुझाव दिएका थिए ।
यसैबीच आजको बैठकमा पूर्वमाओवादी पक्षधर ३ जना स्थायी समिति सदस्य सहभागी थिएनन् । गृहमन्त्री रामबहादुर थापा प्राविधिक कारणले आउन नसकेको जानकारी बैठकलाई गराइएको थियो भने उद्योग मन्त्री लेखराज भट्ट प्रधानमन्त्री ओली क्याम्पमा गइसकेका छन् । भट्ट ओली क्याम्पमा पुगेको चर्चा छलफलमा भएको थियो । प्रचण्डले ओली पार्टी कमिटीका सबै तहमा अल्पमतमा परेकोले विभिन्न प्रलोभनमा पारेर आफूतिर तान्ने प्रयास गर्नसक्ने भएकोले सतर्क रहन आग्रह गरेका थिए । अर्का स्थायी समिति जनार्दन शर्मा भने ढाडको समस्या भएका कारणले छलफलमा सहभागी भएका थिएनन् ।
जबज स्वीकार्न दबाव
प्रचण्डले भेलामा प्रधानमन्त्री ओलीले आफूलाई पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद मानेर अगाडि बढ्न दबाव दिने गरेको बताएका थिए । दबावले काम नगरेपछि महाधिवेशनबाट एकल अध्यक्ष बनाउने अफर गरेको प्रचण्डले बताएका थिए । छलफलको क्रममा प्रचण्डले जबज मानेर अगाडि बढे अर्ली महाधिवेशनबाट एकल अध्यक्ष बन्न प्रस्ताव आएको बताएका हुन् ।
शनिबार राष्ट्रपतिसँगको छलफलमा पनि जबजलाई स्वीकार्नु पर्ने शर्तमा महाधिवेशनपछि पार्टीको एकल अध्यक्ष बन्न अफर गरिएको खुलाशा प्रचण्डले गरेका थिए । उक्त प्रस्ताव आफूले अस्वीकार गरेकोे प्रचण्डको भनाइ थियो । सहभागिमाँझ प्रचण्डले उक्त प्रस्तावलाई वैचारिक प्रतिष्ठामाथिको हमला भएको बताएका थिए ।