हट्यो जोर–बिजोर प्रणाली

सरकारले यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । योसँगै जोर–बिजोर प्रणाली पनि हटेको छ । अहिलेसम्म जोर दिनमा जोर नम्बरका यातायात र बिजोर दिनमा बिजोर नम्बरको यातायातका साधन चल्नेगरे पनि अब सबै यातायात सुचारु गर्ने निर्णय गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा बाह्य दुवै उडान खुला गर्ने निर्णय पनि गरेको छ । आगामी भदौ १ गतेदेखि आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने बताइएको छ ।



यी हुन् मुख्य निर्णयहरू
– भदौ १ गतेदेखि हवाइ उडान खोल्ने ।
– नजिकका जिल्लामा पनि यातायात चलाउन पाउने । यसभन्दा अघि सरकारले एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय गरेको थियो ।
– भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका करारका कर्मचारीको काम गर्ने अवधि नवीकरण गर्ने ।
– लकडाउनलाई अझै खुकुलो बनाइने ।
– जोर–बिजोर प्रणाली हटाउने ।
– साउन ८ गतेदेखि विद्यालय खुला गर्ने र भर्ना अभियान शुरू गर्ने ।
– साउन १५ गतेदेखि होटल खुला गर्ने ।
– अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरो र डुबानको समस्या समाधानका लागि तत्काल सबै संयन्त्र परिचालन गर्ने । प्राकृतिक विपत्तिका कारण जनधनको ठूलो क्षति भएको र थप क्षति हुन नदिनेतर्फ सबै सचेतता अपनाउने । सरकारले यसबारे विस्तृत जानकारी बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजना गरिने नियमित पत्रकार सम्मेलनमार्फत दिनेछ ।

सम्बन्धित समाचार