नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या अभियोगमा दोषी ठहर भइ जेल सजाय काटिरहेकी नलिनी श्रीहरणले आत्महत्याको प्रयास गरेको उनका वकिलले बताएका छन् ।
विगत २९ वर्षदेखि जेलमा रहेकी नलिनीले सोमबार राति आत्महत्याको प्रयास गरेकी हुन् । तमिलनाडूको भेलोरको जेलमा रहेकी नलिनीले आत्महत्याको असफल प्रयास गरेकाले उनको जीवन रक्षाका लागि जेल स्थानान्तरण गरिनु पर्ने माग परिवारको रहेको वकिल पुगालेन्थीले इन्डिया टूडे टेलिभिजनलाई बताएका छन् ।
जेलमा नलिनी र आजीवन काराबास भोगिरहेका अरु कैदीबिच झगडा हुँदै आएको थियो । सो कुरा अरु कैदीले जेलरसम्म पुर्याएपछि नलिनीले आत्महत्याको प्रयास गरेको वकिल पुगालेन्थीले बताएका छन् ।
गान्धीको हत्यामै संलग्न भएको पुष्टि भएपछि नलिनीका श्रीमान मुरुगान पनि जेलमा छन् । मुरुगानले जेलबाट आफूलाई टेलिफोन गरी नलिनीको सुरक्षाका लागि जेल स्थानान्तरण गर्नु पर्ने माग गरेको वकिल पुगालेन्थीले बताएका छन् । राजीव गान्धीको हत्यामा अदालतले नलिनी र उनका श्रीमानसहित सातजनालाई दोषी ठहर गरेको थियो। गान्धीको सन् १९९१ को मे २१ मा हत्या भएको थियो ।
राजीव गान्धीको १९९१ मा मानव बम प्रयोग गरि हत्या गरिएको थियो । एउटा महिलाले आत्मघाती बमको प्रयोग गरि उनको हत्या गरेकी थिइन् । उनको आमा तथा भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको पनि उनका अंगरक्षकहरुद्धारा गोली प्रहार गरि हत्या गरिएको थियो ।