नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ साउन ।
सुशान्तसिंह राजपुतको आत्महत्यापछि कंगना रनावतले चर्को रूपमा नेपाटिजमका विषयमा कुरा उठाइरहेकी छिन् । उनले थुप्रै बलिउडकर्मीलाई नेपोटिजम (परिवारवाद) लाई बढावा दिएको आरोप लगाइरहेकी छिन् । यही विषयमा उनले हालै आउट साइडर्स (बलिउडभन्दा बाहिरबाट आएका कलाकार) अभिनेत्रीहरूको आलोचना गरेकी छिन् ।
कंगनाले एक टीभी अन्तर्वार्तामा नेपोटिजमबारे बोल्दै स्वरा भाष्कर र तापसी पन्नुजस्ता आउट साइडर्स अभिनेत्रीहरूले काम पाउँदैनन् र उनीहरू कामका लागि निर्देशकसँग चाप्लुसी गर्छन् भनेकी थिइन् । ‘म आउट साइडर्स कलाकारका लागि लडिरहेकी छु । तर उनीहरूले नै मलाई काम नपाएर नेपोटिजमलगायत कुरा गरिरहेको भन्दै नराम्रो भन्छन् । तापसी र स्वराजस्ता आउट साइडर्स कामका लागि चाप्लुसी गर्छन्,’ उनले भनिन् ।
साथै उनले स्वरा र तापसी (स्टार किड) बी ग्रेडका अभिनेत्री भए पनि आलिया र अनन्याभन्दा राम्रो अभिनय गरेको उनले बताएकी छन् । अभिनय राम्रो गरे पनि उनीहरूले किन काम नपाएको रु भन्दै यो नेपोटिजमको उदाहरण भएको बताएकी छिन् । कंगनाको आरोपमा भड्किदै अभिनेत्री तापसीले ट्विट गर्दै जवाफ फर्काएकी छिन्, ‘मैले सुनें कक्षा १२ र १० को रिजल्टपछि अब हाम्रो पनि रिजल्ट आएको छ । के अब हाम्रो ग्रेड सिस्टम आधारिक भयो रु अहिलेसम्म त संख्यामा आधारित थियो ।’
तापसी यतिमा मात्रै शान्त भइनन्, उनले अर्को ट्विटमा लेखेकी छिन्, ‘नराम्रो नहुनुहोस्, उत्कृष्ट हुनुहोस् ।’ तापसीपछि अभिनेत्री स्वराले पनि ट्विटरमार्फत नै जवाफ फर्काएकी छिन् । उनले कंगनाकै शब्द दोहोर्याउँदै व्यांग्यात्मक शैलीमा लेखेकी छिन्, ‘आउट साइडर्स, बी ग्रेड अभिनेत्रीहरू, तर आलिया भट्ट र अनन्या पाण्डेभन्दा राम्रो, मलाई लाग्यो यो प्रतिक्रिया हो । धन्यवाद कंगना, मलाई तपाईं राम्री, मनकारी र उत्कृष्ट अभिनेत्री लाग्यो ।’
स्वरा पनि यतिमा मात्रै शान्त भइनन् उनले फेरि अर्को ट्विट गर्दै भारतमा नारीवाद र भारतलाई आजाद पनि कंगनाले उनकै चलचित्रबाट गरेको भन्दै दोस्रो व्यंग्यले भरिएको आक्रोश पोखिन् । कंगनाको यो अन्तर्वार्तापछि उनको चर्को आलोचना भइरहेको छ । यो पहिलोपटक भने पक्कै होइन कंगना आफूले दिएको भनाइका कारण आलोचनामा तानिएको । योभन्दा अघि पनि उनी धेरै विषयमा आफ्नो भनाइ राखेर आलोचनामा आइसकेकी छिन् ।